डडेल्धुरा–भोटेकोशी विपद्का कारण मुलुक पीडामा रहेका बेला वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा रक्षासूत्र धारण गरेर जनैपूर्णिमा तथा रक्षावन्धन पर्व मनाई रहेका छन् । यसै दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने चलनसमेत रहेको छ।
तागाधारी समुदायले आफ्ना पुर्खा, ऋषि तथा महर्षिलाई सम्झँदै जल तथा तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी पर्वका रूपमा पनि मनाउने गरिन्छ। जनैपूर्णिमाका दिन विभिन्न थरीका गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको विशेष परिकार क्वाँटी खाने प्रचलनसमेत रहेको छ।
हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ।पर्वका कारण यहाँको परिवेश राखीमय बने पनि यसपालि पर्वको मुखैमा आएको भोटेकोशीको बाढीले पुर्याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहेको स्थानीय बताउँछन्।




















