बाढीमा परेर करिब पाँच हजार मानिस सम्पर्कविहीन भएको अनुमान

Image

डडेल्धुरा–भोटेकोशी र त्रिशूली नदीमा बाढी आएको चौथो दिनसम्म पनि कति मानिस परे वा कति हराइरहेका छन् भन्ने यकिन विवरण आउन सकेको छैन । तर, सरकारले गरेको प्रारम्भिक प्राविधिक मूल्यांकनले भने झन्डै पाँच हजार व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको देखाएको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार बाढी आउनुअघि रसुवाको गोसाईंकुण्डदेखि नुवाकोटको देवीघाट क्षेत्रसम्म सक्रिय रहेका करिब पाँच हजार मोबाइल प्रयोगकर्ता बाढीपछि सम्पर्कमा आएका छैनन् । नेपाल टेलिकम र एनसेलबाट प्राप्त विवरणका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म एक हजार ९२४ जना सम्पर्कविहीन छन् । तीमध्ये ९३३ जना जलविद्युत् आयोजनाका कर्मचारी हुन् ।

बाढीपहिरोमा सम्पर्कविहीन विदेशी नागरिकको संख्या मात्रै करिब ५१७ पुगेको छ । उनीहरूको खोजीका लागि शुक्रबारसम्म करिब दुई हजार निवेदन परेका छन् । सम्पर्कविहीनमध्ये रसुवा र नुवाकोटका स्थानीय तथा गोसाईंकुण्ड घुम्न गएका पर्यटकको विवरणसमेत अझै पूर्ण रूपमा संकलन हुन सकेको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्