रासस (सुदूरपश्चिम)-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि समानुपातिक र आवश्यकताका आधारित बजेट विनियोजन गरिने बताएका छन्। कैलालीको धनगढीमा आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनमा उनले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरी शिक्षा प्रवद्र्धनमा जोड दिनुपर्ने बताए।
मुख्यमन्त्री भट्टले सरकारले अभिभावकको सहजता र विद्यार्थीलाई पुषणयुक्त खाजासहित प्रभावकारी रूपमा शिक्षा प्रदान गर्न अगाडि सारेका योजनामा साथ दिन सबैको जिम्मेवारी भएको धारणा राखे। उनले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए।
“भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ । त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ,” उनले भने। मुख्यमन्त्री भट्टले शिक्षा क्षेत्रमा बजेटको असमान वितरणका कारण समानुपातिक विकास हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यस्तो अवस्था अन्त्यका लागि पहलकदमी लिने बताए।
“कतै आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव हुने असमान अवस्थालाई अन्त्य गर्नुपर्नेछ । अब त्यसरी बजेट वितरण हुनु हुँदैन । आवश्यकता र औचित्यका आधारमा समानुपातिक विकासमा जोड दिनुपर्छ”, उनले भने। मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सञ्चारकर्मीलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रहसमेत गरे।














