काठमाडौं-गृहमन्त्री सुदन गुरुङले माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारमा आफैँ खटेको समाचार सञ्चारमाध्यममा प्रवाह गरे। विपद्को केन्द्रीय कमाण्ड गर्नुपर्ने गृहमन्त्री प्राविधिकहरूले गर्ने काममा अघि सरेर सुरुङमा गए। निकै तदारुकतासाथ आफूले काम गरिरहेको सन्देश प्रवाह गर्न उनी त्यहाँ पुगेका थिए। तर, यथार्थमा भने रसुवा बाढीका कारण सुरुङमा फसेका करिब ६ सय मानिसहरूको गम्भीर किसिमको उद्धार प्रयास अझै शुरु हुन सकेको छैन।
त्रिशूली नदी प्रवाहका विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका कामदार तथा कर्मचारीहरूको चार दिन बितिसक्दा समेत उद्धार हुन सकेको छैन। ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ २१६, मेगावाटको माथिल्लो त्रिशूली–१, २० मेगावाटको लाङटाङ, २२ मेगावाटको चिलिमेलगायत आयोजनाको सुरुङमा सयौंको संख्यामा मानिसहरू फसेका छन्।
तर, आवश्यक जनशक्ति, विज्ञता, उपकरण र सरकारी तत्परताको अभावमा सुरुङमा फसेका मानिसहरूको अहिलेसम्म पनि उद्धार हुन नसकेको सम्बन्धित आयोजनाहरूले जानकारी दिएका छन्। गृहमन्त्री गुरुङ पुगेको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनामा सुरुङ भेट्टाउन सकिन्छ कि भनेर करिब २० फिट खन्नुबाहेक फसेका मानिसहरुको उद्धार नै हुने गरी कुनै पनि विद्युत आयोजनाको सुरुङमा उद्धार अभियान चलाइएको छैन।
‘सुरुङमा फसेका मानिसको जीवन बचाउन एक-एक मिनेट महत्त्वपूर्ण हुन्छ, तर उद्धारको कामको समन्वय गरिरहेका सरकारी अधिकारीहरूले त्यसको गम्भीरता नै महसुस गरेको देखिएन,’ नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले बताए। सुरुङमा फसेका मानिसलाई बचाउने मनसाय हो भने दुई दिनभित्र उद्धार गरिसक्नुपर्ने जलविद्युत विज्ञ सूर्यप्रसाद अधिकारी बताउँछन्। ‘हाम्रोमा त मन्त्रीहरू हेलिकोप्टर चढ्ने, फोटो खिचाउने तर गम्भीर उद्धारको प्रयास नै नगर्ने देखियो,’ उनले भने।
शनिवार बल्ल सरकारले उद्धारका लागि विदेशी टोलीलाई अनुमति दिने निर्णय गर्यो। सोहीअनुरुप एउटा चिनियाँ र एउटा भारतीय टोली नेपाल पनि आएका छन्। तर, सरकारले आवश्यक समन्वय गर्न नसक्दा ती दुवै टोलीले शनिबार पनि फिल्डमा काम थाल्न नसकेको थाहा भएको छ। सुरुङबाट उद्धारको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले नै कतिसम्म असंवेदनशील सूचना प्रवाह गर्यो भने ६ सदस्यीय चिनियाँ ‘टनेल एक्पर्ट’ को टोलीले माथिल्लो त्रिशूली थ्रीबीमा उद्धार शुरु गरेको प्रचार गरियो।
जबकी, सो आयोजनामा न त त्यो टोली नै पुगेको थियो, न सो आयोजनामा सुरुङमा मानिसहरू नै फसेका थिए। आयोजनाबाट सम्पर्कविहीन भएका २ सय १ जना सतहमा काम गरिरहेका मानिसहरू रहेको आयोजनाले जानकारी दिएको छ। अर्कातिर, माथिल्लो त्रिशूली–१, लाङटाङजस्ता आयोजनाले सुरुङमा फसेका सयौं मानिसको समयमै उद्धारका लागि चार दिनदेखि सरकारलाई अनुरोध गरिरहेको तर हालसम्म पनि सरकारले उद्धारको काम सुरु नगरेको जानकारी दिएका छन्।
लाङटाङ आयोजनाको सुरुङमा करिब २५ जना मानिसहरू फसेको अनुमान भएपनि हालसम्म सरकारका तर्फबाट त्यहाँ फसेका मानिसहरूको उद्धारका लागि कुनै प्रयास नभएको आयोजना प्रवर्धक विजयमान भट्टराईले जानकारी दिए। आयोजनामा ६० जनाले काम गरिरहेकोमा १९ जनाको उद्धार भएको जानकारी उनले दिए । बाहिर रहेका कर्मचारीको उद्धार भएको तर सुरुङमा फसेकाको उद्धार शुरु नै हुन नसकेको उनले बताए ।
‘त्यहाँबाट बाँचेर निस्केका कर्मचारीहरूले पनि सुरुङमा मानिसहरू फसिरहेको बताएकाले उद्धार गरिदिनुपर्यो भनेर मैले पटकपटक सम्बन्धित अधिकारीहरूलाई भनिरहेको छु, तर हालसम्म उद्धारको काम नै शुरु हुन सकेको छैन,’ उनले भने, ‘चार दिन भइसक्यो प्रयास गरेको छु, आज गर्छौं, भोलि गर्छौं भन्छन्, हुन सकेको छैन, म त थाकिसकेँ ।’
त्यस्तै, नेपाल विद्युत प्राधिकरणको त्रिशूली थ्री ए आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारको प्रयास बल्ल दुई पछि थालिए पनि हालसम्म उद्धार हुन सकेको छैन। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार त्रिशूली थ्री ए परियोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि आवश्यक केही सामग्रीहरू बल्ल शुक्रबार प्रभावित क्षेत्रमा पुगेको थियो। त्यसपछि दुईवटा एक्स्क्याभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म छिचाल्न खन्ने काम भइरहेको उनले जानकारी दिए।
‘सबै सामग्री हेलिकोप्टारबाट लैजानुपर्ने कारणले पनि समस्या भएको छ,’ उनले भने । थप आधुनिक उपकरण लैजाने प्रयास गरिरहेको उनले बताए। त्यस्तै, त्रिशूली करिडोरकै निर्माणाधीन सबैभन्दा ठूलो परियोजना अपर त्रिशूली–१ मा समेत उद्धारको काम शुरु नभएको आयोजनाको प्रबर्धक नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले जानकारी दिए।
यो आयोजनामा काम गरिरहेकामध्ये करिब ६ सय मानिसहरू अझै सम्पर्कमा नआएको तथा त्यसमध्ये ४ सय सुरुङमा फसेको हुनसक्ने अनुमान रहेको अधिकारीले बताए। तर, सरकारले अहिलेसम्म पनि फसेका मानिसहरूको उद्धारका लागि उपकरण तथा जनशक्ति आयोजनास्थलमा पठाउन सकेको छैन। यही आयोजनाको उद्धार कार्यमा सहयोग गर्न भनेर ६ सदस्यीय सुरुङ विज्ञ टोली पनि नेपाल आईपुगेको छ। सो आयोजनाको सिभिल निर्माणको काम चाइना रेलवेले गरिरहेको छ। सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ विज्ञहरू आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी जानकारी दिए।




















