डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्थायी राजधानी सबै प्रदेशबासीको पायक पर्ने उपयुक्त स्थानमा तोक्न सुदूरपश्चिम प्रदेशसभालाई सुवर्ण अवशर जुरेको बताएका छन्।
नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधनगर्दै मुख्यमन्त्री भट्टले हालसम्म राजधानी निर्माणको निर्णय कार्यान्वयन नभएकाले तत्कालिन अबस्थामा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको विषयलाई पुर्नविचार गरेर प्रदेशसभाले उपयुक्त स्थानमा राजधानी तोक्ने निर्णय गर्नसक्ने अवशर रहेको बताए। ‘निर्णयमा पुर्नविचार गर्ने वा पुरानै निर्णय कार्यान्यनमा लैजाने प्रदेशसभामा निहित अधिकार हो,’ उँनले भने,‘अब ढिलाई नगरेर राजधानी निर्माण प्रकृया अघि बढ्छ ।’
राजधानी निर्माणलाई केवल भौतिक संरचना निर्माणको विषयका रूपमा नभई सुदूरपश्चिमको मौलिकता, पहिचान र आवश्यकतालाई स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने उनले जानकारी दिए । सुदूरपश्चिमको राजधानी यँहाको प्राचिन शैलीमा पुरात्वातिक महत्वको बनाईने र आफ्नै कार्यकालमा राजधानी निर्माणको काम शुभारम्भ हुने उनले जिकिर गरे । सञ्चारकर्मीले गरेको प्रश्नको जवाफदिँदै मुख्यमन्त्री भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्रयाकबाट नयाँ बजेट ल्याउने बताए ।
विगतका बेथिति र कमजोरी सच्याएर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन भइरहेको जानकारी दिँदै उनले प्रदेशको बजेट निर्माणमा जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखिने दाब गरे । विशेषगरी दुर्गम क्षेत्र तथा सीमान्तकृत समुदायका आवश्यकता, भावना र योजनालाई प्राथमिकताका साथ बजेटमा समेटिने उनको भनाइ छ । दैजी–जोगबुडा र बुडर नायल गुलरिया सडकलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बैकल्पिक राजमार्गका रुपमा विकास गरिने उनले बताए । नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरी सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने मुख्यमन्त्री भट्टले दाबी गरे ।














