बाजुरा-बाजुरामा पछिल्लो समय कोदो उत्पादन बढ्दै गएको छ । विगतमा कोदो खेती गर्न छाडेका यहाँका किसान अहिले पुनः कोदो खेती गर्न थालेका छन् । जिल्लाका नौवटै स्थानीय तहले किसानलाई कोदो खेतीप्रति उत्प्रेरित गर्दै आएपछि उत्पादनमा समेत वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र, बाजुराका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच हजार ३६० मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने छ हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदो खेतीबाट स्थानीयको जीविकोपार्जनमा सहजता हुने देखिएपछि पछिल्लो समय स्थानीय तहहरूले पनि किसानलाई कोदो खेतीप्रति उत्प्रेरित गर्दै आएका छन् । अहिले कोदोको माग बढेकाले गाउँमै प्रतिकिलो ५० रुपियाँका दरले खरिद भइरहेको छ। पहिला बाजुरामा कोदो बिक्री नहुने गरेको भए पनि अहिले कोदो खरिद गर्न ग्राहक गाउँघरमै आउन थालेपछि किसानहरू कोदो खेतीतर्फ आकर्षित भएका छन्।
कोदो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम र आइरनजस्ता पोषक तत्त्व पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यहाँका केही स्थानीय तहले विद्यालयमा बालबालिकालाई खुवाइँदै आएको दिवा खाजामा समेत कोदोको परिकार अनिवार्य गर्दै आएका छन् । जिल्लाका ठुला होटलमा आउने पाहुनाले समेत कोदोको रोटी र ढिँडो माग गर्ने गरेका छन् ।
जिल्लामा आउने पाहुनाको रोजाइमा भने कोदोका परिकार पर्न थालेका छन् । उनीहरूले दालभातभन्दा पनि कोदोको रोटी, ढिँडो तथा अन्य परिकार मन पराउने गरेका छन् । कोदो खेती गर्न पनि सहज छ । यसलाई सिँचाइको खासै आवश्यकता पर्दैन । यो भिरालो पाखो जमिनमा समेत फल्ने गर्छ । जिल्लाका हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणीलगायतका स्थानीय तहका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँका किसान विगतको तुलनामा बढी कोदो खेती गर्दै आएका छन् ।
जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य रहेको छ । बाजुरामा पाँच हजार २६० हेक्टर जमिनमा कोदो खेती गरिन्छ । गत वर्ष जिल्लामा छ हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।




















