प्रधानाध्यापक धामी मृत्यु प्रकरणका आठ अभियुक्त धरौटीमा रिहा

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

दार्चुला–दार्चुलाको व्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले जिल्ला अदालत दार्चुलाको थुनछेक आदेश बदर गर्दै आठै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख रुपैयाँ, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही १ लाख ५० हजार रुपैयाँ तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतको आदेश जिल्ला कारागार दार्चुलामा औपचारिक रूपमा पुगिनसकेको कारागार प्रशासनले जनाएको छ। पत्र प्राप्त भएपछि रिहाइको प्रक्रिया अघि बढाइने जेलर उमेशसिंह बिष्टले बताएका छन्। प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। मृत्यु हुनुअघि उनले सामाजिक सञ्जालमा हाल मुद्दा खेपिरहेका आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबी गरेका थिए। सोही आधारमा प्रहरीले उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको थियो।

प्रतिक्रिया जनाउनुहाेस्