काठमाडौं-चालु आर्थिक वर्षका दुई महिना (साउन–भदौ) मा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढेको छ। गत वर्ष साउन र भदौका तुलनामा यो वर्ष ३१.७७ प्रतिशतले राजस्व बढेको हो।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन–भदौमा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा ८ अर्ब ४६ करोड राजस्व असुली भएको हो । गतका दुई महिनाभन्दा यो वर्ष २ अर्ब ४ करोड राजस्व धेरै उठेको हो। विभागका अनुसार गत वर्षको तुलनामा चालु आवमा घरजग्गाको कारोबार संख्या १७ प्रतिशतले बढेको छ। घरजग्गा कारोबार गत आवको २ लाख ७ हजार थान लिखत पारितबाट यो वर्ष बढेर २ लाख ४२ हजार पुगेको छ।
गत वर्षको साउनमा घरजग्गाबाट संकलन हुने राजस्व ३ अर्ब २८ करोड रहेकामा चालुमा बढेर ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ। यस्तै, गत आवको भदौमा ३ अर्ब १४ करोड राजस्व संकलन हुँदा चालु आवको भदौमा ४ अर्ब ७२ करोड भएको छ । सरकारले जग्गाको कित्ताकाटलाई केही सहज बनाएपछि राजस्व वृद्धि हुँदै आएको छ । गत आर्थिक वर्षको चैत महिनाबाट राजस्व संकलन क्रमशः वृद्धि हुँदै आएकाले यसको कारोबार चलायमान हुने अपेक्षा छ । तर, ३ वर्षअघिको जस्तो जग्गा कारोबार र राजस्व दुवैमा वृद्धि हुन सकेको छैन।
सरकारले अघिल्लो वर्षको साउनबाट जग्गाको कित्ताकाट खुला गरेको थियो। अर्थतन्त्र सुस्त भए पनि गत आर्थिक वर्षको १२ महिना (साउन–असार) मा घरजग्गा कारोबारबाट उठ्ने राजस्व २४ प्रतिशतले बढेको थियो। गत वर्ष देशभरका मालपोत कार्यालयले ६० अर्ब ७३ करोड ७२ लाख रुपैयाँ राजस्व असुली गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा राजस्व ११ अर्ब ६० करोड रुपैयाँ बढेको थियो । गत आवको अन्य महिनाको तुलनामा असारमा सबैभन्दा बढी घरजग्गा कारोबारबाट राजस्व संकलन भएको थियो। असारमा मात्र ११ अर्ब ९४ करोड राजस्व संकलन भएको थियो । विभागको तथ्यांकअनुसार असारमा सर्वाधिक संख्यामा घरजग्गा कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले गरेको अनुसन्धान अनुसार गत आर्थिक वर्षमा सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको छ। राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गत मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ । राष्ट्र बैंकका अनुसार आव २०८१–८२ मा तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो। आर्थिक वर्ष २०८२–८३ मा घरजग्गाको कुल कारोबारको संख्या आव २०८१–८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१–८२ मा भने घरजग्गाको कारोबार संखया एक दशमलव ८४ प्रतिशतले घटेको थियो।













