धनगढी-धनगढीको शिवपुरीधाममा १०८ फिट अग्लो शिवलिंगमुनि हुर्कँदै गरेको कल्पवृक्ष भक्तजनको नयाँ आकर्षण बनेको छ।
धार्मिक आस्था, विशाल संरचना र प्राकृतिक वातावरणका कारण धनगढी उपमहानगरपालिका-४, उत्तरबेहडीस्थित धाममा पछिल्लो समय दर्शनार्थीको चहलपहल बढ्दै गएको छ। करिब आठ बिघा क्षेत्रमा फैलिएको धाममा १०८ फिट अग्लो शिवलिंगसहित १०८ तुलसीका मठ, द्वादश ज्योतिर्लिंग, १०८ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायण, गणेश, मुक्तिनाथ, दुर्गा र उग्रतारा मन्दिर छन् । साधुसन्तका लागि आवास भवनसमेत निर्माण गरिएको छ।
धाम परिसरमा पत्रकार पुष्पराज जोशीले २२ जेठ २०७८ मा रोपेको कल्पवृक्ष चार वर्षमा हुर्कँदै गएको हो। हिन्दू धार्मिक मान्यताअनुसार कल्पवृक्ष समुद्र मन्थनबाट उत्पन्न १४ रत्नमध्ये एक हो। यसको मुनि बसेर मनोकामना गरे पूरा हुने विश्वास रहँदै आएको छ। शिवपुरीधामका पुरोहित हरिनारायण भट्टका अनुसार यही विश्वासका कारण कल्पवृक्ष हेर्न र पूजाआजा गर्न आउनेको संख्या बढेको छ। धाम व्यवस्थापन समितिका अध्यक्ष मदन कुँवरका अनुसार कैलालीका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्ला र भारतबाट समेत दर्शनार्थी आउन थालेका छन् । शनिबार, सार्वजनिक बिदा र धार्मिक पर्वमा धाममा बढी भीड लाग्ने गरेको उनले बताए।
धाम बिहान ५ बजेदेखि बेलुका ७:३० बजेसम्म खुला रहन्छ । यहाँ महाशिवरात्रिसहित विभिन्न धार्मिक अनुष्ठान, विवाह, व्रतबन्धलगायत मांगलिक कार्य हुँदै आएका छन्। यता, स्थानीयले धामको थप विकाससँगै संरक्षणमा सरकारी निकायको ध्यान जानुपर्ने बताएका छन् । धाम आसपासको धार्मिक वनमा तारबार नहुँदा छाडा चौपायाले समस्या पार्ने गरेको उनीहरूको गुनासो छ।


















