महेन्द्रनगर–सम्भावित भारी वर्षा, बाढी र डुबानको जोखिमलाई ध्यान दिँदै कञ्चनपुरमा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र पारिएको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर सम्भावित विपद्का बेला उद्धार, राहत तथा नागरिकको सुरक्षाका लागि आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो। असोज ९ देखि ११ गतेसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणलाई ध्यान दिएर जिल्लाका स्थानीय तह र सम्बन्धित निकायलाई सतर्क रहन भनिएको छ।
मौसमसम्बन्धी पूर्वसूचना तथा चेतावनी सर्वसाधारणसम्म समयमै पुर्याउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा माइकिङमार्फत सूचना प्रवाह गरिँदै छ। वर्षाका कारण नदी तथा खोलामा पानीको बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जोखिम बढेमा स्थानीय तहले सुरक्षा निकायसँग समन्वय गरी नागरिकलाई विद्यालय तथा अन्य सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनेछन्। बाढी तथा डुबानको जोखिम कम गर्न सहरी क्षेत्रका ढल तथा नहर सफा गर्ने, पानीको निकास खुलाउने र अवरोध हटाउने कामलाई समेत प्राथमिकता दिइएको छ।
सम्भावित उद्धारका लागि डोजर, स्काभेटर, जाली, बोरा लगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखिएका छन्। स्थानीय तहसँगै सडक, सिँचाइ, पूर्वाधार तथा जलस्रोतसम्बन्धी कार्यालयलाई आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ। विपद्का बेला तत्काल उद्धार तथा राहतमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ। आवश्यक परे स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयका कर्मचारीलाई तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
महाकाली नदी तथा अन्य खोलानालामा सम्भावित जोखिमलाई ध्यान दिँदै आवश्यक निर्माण सामग्रीको व्यवस्थापनसमेत गरिने भएको छ। महाकाली नदीको तटबन्ध निर्माण तथा संरक्षणका लागि आवश्यक ठूला ढुंगा महाकाली पुल योजनाले उपलब्ध गराउने र विभिन्न खोलाबाट सामग्री ल्याउनुपर्ने अवस्थामा डिभिजन वन कार्यालयले सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ। सम्भावित विपद्का कारण विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमलाई आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न भनिएको छ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत जोखिमसम्बन्धी चेतावनी सन्देश तयार गरी आवश्यक परे नेपाल टेलिकमबाट समूहगत सन्देश पठाउने व्यवस्था मिलाइएको छ। विपद्का बेला आकस्मिक उपचार आवश्यक पर्नसक्ने अवस्थालाई ध्यानमा राख्दै महाकाली प्रादेशिक अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।


















