देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा भाग लिन पुर्वसभापति मल्ललाई कार्यकर्ताहरुको दबाब

Image

डडेल्धुरा–कांग्रेस संस्थापन समुहले आयोजना गरेको महाधिवेशन बहिष्कार गरेका नेपाली कांग्रेस डडेल्धुराका पुर्व सभापति कर्णबहादुर मल्ललाई पुर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समुहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार यहि असोज १५ गतेदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुन कार्यकर्तास्तरबाट दबाब दिइन थालिएको छ।

गगन थापा पक्षले विधि विधान र कार्यकर्ताहरुको मनोभावनाविपरित महाधिवेशनको कर्मकाण्डी प्रकृया शुरु गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभाका पुर्व सदस्यसमेत रहेका मल्लले महाधिवेशन बहिष्कार गरेका थिए। नेपाली काग्रेस डडेल्धुराका उपसभापति तथा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले पुर्वसभापति मल्ललाई असोज १५ गतेदेखि आरम्भ हुने महाधिवेशनमा सहभागी हुन जिल्लास्तरीय नेता कार्यकर्ताहरुबाट दबाब सिर्जना भइरहेको बताए। उनले कांग्रेस कार्यकर्ताहरुबीच लोकप्रिय र प्रभावशाली नेता मल्लले महाधिवेशनमा भाग लिनुपर्ने जिकिर गरे।

सुदूरपश्चिम प्रदेश सरकारकी पुर्वमन्त्री सरस्वती खड्काले जिल्लास्तरमा प्रभावशाली र कर्मठ नेता मल्लले महाधिवेशनमा भाग लिनुको विकल्प नभएको बताइन् । उनले जिल्लास्तरमा झण्डै ७० प्रतिसत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सभापति गगनकुमार थापा समुहले आयोजना गरेको महाधिवेशन प्रकृयामा सहभागी नभएर बहिष्कार गरेको बताइन् । सभापति थापाको कार्यतालिकाअनुसार महाधिवेशनका कृयाकलापहरुमा सहभागी नभएका डडेल्धुरा जिल्लाका इमान्दार नेता कार्यकर्ताहरुले पुर्वसभापति मल्ललाई असोज १५ गतेदेखि आरम्भ हुने महाधिवेशनमा सहभागी हुन दबाब दिइरहेको बताउँदै पुर्वमन्त्री खड्काले भनिन्, ‘कार्यकर्तास्तरबाट मात्रै नभई स्वयम् श्रद्धेय नेता शेरबहादुर देउवालेसमेत मल्ललाई महाधिवेशनमा भाग लिन आग्रह गर्नु भएको छ, विगतका कमि कमजोरीलाई सुधार गरेर लैजाने प्रतिवद्धतासमेत श्रद्धेय नेता देउवाले ब्यक्त गर्नुभएको छ ।’

पुर्वसभापति मल्लले थापा नेतृत्वको नेपाली कांग्रेसले आह्वान गरेको महाधिवेशन बहिष्कार गर्ने अडान लिएसँगै देउवा पक्षधर डडेल्धुराका नेपाली कांग्रेस आवद्ध ७० प्रतिसत भन्दा बढि नेता कार्यकर्ताहरु महाधिवेशन प्रकृयामा सहभागी भएका छैनन् । पुर्व सभापति मल्लले भने देउवा पक्षले आह्वान गरेको महाधिवेशनमा सहभागी हुने वा नहुने भन्ने विषयमा हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

नेपाली कांग्रेस डडेल्धुराका उपसभापति तथा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जिल्लास्तरीय नेता कार्यकर्ताहरुको राय सल्लाहअनुसार राजनीतिक कदम चाल्दै आएका पुर्व सभापति मल्ललाई यहि असोज १५ गतेदेखि आयोजना हुने कांग्रेसको नियमित १५ औं महाधिवेशनमा भाग लिन चौतर्फी दबाब बढ्दै गएको बताए। उनले जनप्रिय नेताले जनभावनाअनुसार काम गर्न जरुरी रहेको बताउँदै नेता कार्यकर्ताहरुको चाहनाबमोजिम पुर्वसभापति मल्ल महाधिवेशनमा भाग लिने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया जनाउनुहाेस्