मौसमजन्य विपद् : १० बर्षमा सुदूरपश्चिमका पाँच हजार एक सय ९५ जनाको मृत्यु

Image

डडेल्धुरा-मनसुनलगायत प्राकृतिक विपद्का घटनामा सुदूरपश्चिम प्रदेशले पछिल्लो एक दशकमा ठुलो मानवीय एवं आर्थिक क्षति बेहोरेको छ।

हरेक वर्ष बाढी, पहिरो जस्ता विपत्का घटना सामना गर्दै आएको प्रदेशले २०७२ सालयता पाँच हजार एक सय ९५ मानवीय क्षति बेहोरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार यस्ता घटनाका कारण अझैसम्म पाँच सय  १७ जना व्यक्ति बेपत्ता छन् । विपद्का घटनामा परेर १५ हजार सात सय ५१ जना घाइते भएका जनाइएको छ । यस्तै १० वर्षको अवधिमा दुई हजार पाँच सय ८५ परिवार प्रभावित भएका छन् ।

बाढी, पहिरो, आगलागी जस्ता विपद्जन्य घटनाका कारण १० वर्षको अवधिमा ३२ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ। प्राकृतिक विपद्बाट हुने क्षति र विपत् जोखिम न्यूनीकरणमा एक्लो प्रयास सम्भव नरहेकाले तीन तहकै सरकार र सरोकारवाला सबैलाई सहकार्य गरेर एकसाथ अगाडि बढ्न प्रदेश सरकारले आग्रह गरेको छ। प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गइरहेकाले त्यसको सामनाका लागि सबै तहका सरकार र निकायबिच समन्वय आवश्यक रहेको बताए।

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म तीन दिन यस प्रदेशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि मुख्यमन्त्री भट्टले आउन सक्ने जोखिमप्रति प्रदेश सरकार सजग रहेको बताए। उनले विपत् आउनुअगाडि नै आवश्यक पूर्वतयारी, स्रोतसाधनको व्यवस्थापन र उद्धार तथा राहतका संयन्त्रलाई चुस्त बनाउनुपर्ने उल्लेख गरे। मुख्यमन्त्री भट्टका अनुसार तीन दिनसम्म हुने वर्षाका क्रममा विपत् जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारले आफ्ना सबै संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्