नेपालमा प्रभाव पारिरहेको भारतको न्यूनचापीय प्रणाली कमजोर हुँदै

Image

डडेल्धुरा-नेपालमा प्रभाव पारिरहेको भारतको उत्तर छत्तीसगढ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली (डिप्रेसन) उत्तर-उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर भई न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिअनुसार जसका कारण अब वर्षा पनि घट्दै जाने अनुमान गरिएको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए। ‘त्यो प्रणाली बिस्तारै कमजोर हुँदै छ, पश्चिमतिर अलि बढी प्रभाव देखिएको छ। गण्डकी लुम्बिनी र कर्णालीमा बढी प्रभाव पार्ने देखिन्छ’, उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘पूर्वतिर मौसम क्रमश: सुधारोन्मुख छ। पानी परे पनि त्यस्तो धेरै प्रभावित पार्ने खालको हुँदैन।’ यद्यपि नेपालमा मनसुनी वायुको पनि प्रभाव यथावत् छ। साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।

आजका लागि यस्तो छ वर्षा प्रक्षेपण-

२०८३ असोज १० गते (शनिबार)

दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोसी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।मधेस प्रदेश तथा बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

राति : बागमती, गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने तथा कोसी र मधेश प्रदेशमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, बागमती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, मधेस प्रदेश तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा मधेस प्रदेशकाको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

प्रतिक्रिया जनाउनुहाेस्