वर्षाले देशभरका ११ राजमार्ग अवरुद्ध

Image
पहिरो पन्छाउँदै जनार्दन घिमिरे / गुल्मी समाचारदाता गुल्मी, १० असोज (रासस) : गुल्मीको छत्रकोट गाउँपालिका-३ स्थित श्रृङ्गा देउरालीमा शनिबार बिहान लेदो सहितको पहिरो खसेपछि स्थानीय र प्रहरीको सहयोगमा जेसीभी द्वारा पहिरो पन्छाउॅदै। तस्बिर : जनार्दन घिमिरे/रासस

काठमाडौं- भारी वर्षाका कारण देशभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन्। यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित देशभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले शनिबार एक सूचना जारी गरी जनाएको छ।

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छन्। सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौं आउने सवारीसाधन प्रभावित भएका छन्। लगातारको वर्षाका कारण रातिको समय र जोखिम मानिएका स्थानमा दिउँसो पनि यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ।

सडक विभागका अनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । त्यसैगरी बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने-कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत खण्ड अवरुद्ध भएका छन्। कान्ति राजमार्गको चपली, तकुर्चेलगायत खण्डमा पनि आंशिक रूपमा प्रभावित भइरहेको छ । मकवानपुर खण्डमा भने पहिरो पन्छाएर यातायात सञ्चालनमा आएको विभागले सूचनामार्फत जनाएको छ।

सिद्धिचरण राजमार्गको ओखलढुङ्गा-सलेरीखण्ड, सोलुखोला नजिकलगायत खण्डमा पनि अवरुद्ध भएका छन्। सो खण्डमा सडक भासिएकाले एक्जाभेटर, ह्विल लोडरलगायत उपकरण परिचालन गरेर सञ्चालन ल्याउने प्रयास भइरहेको छ। मध्यपहाडी राजमार्गको पनि निसी गाउँपालिका-कानाबगरलगायत खण्ड पनि अवरुद्ध भएको छ। सो खण्डमा लेदोसहितको पहिरो आउने क्रम पनि जारी छ। त्यसैगरी, कालीगण्डकी करिडोरको पनि जैमिनी नगरपलिका-८ बेलबगर सडक पनि अवरुद्ध छ। सो खण्डमा ठूलो प्रकृतिको पहिरो गएकाले पनि हटाउने कार्य भइरहेको सडक विभागले जनाएको छ।

त्यसैगरी, बाग्लुङ-बेनी राजमार्ग खण्डको पनि म्यादी, हुलाकेलगायत खण्ड पनि सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार तमोर कोरिडोरको छरुवाखोला, नावाखोला, रानीगाउँलगायत खण्डमा पनि सडक अवरुद्ध छ । राप्ती राजमार्गको पनि कपुरकोट-खारखोला खण्डको सडक अवरुद्ध छ । कर्णाली राजमार्गको गगनेखोला, नाग्म-जुम्लाको राँका क्षेत्र-बाङ्गेसिमल-दहीखोला तथा हारे नजिक खण्ड पनि अवरुद्ध छ । भालुवाङ-चकचके-लिवाङ सडकखण्डको पनि विभिन्न क्षेत्रमा सडक अवरुद्ध रहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्