नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको निर्णय

Image

डडेल्धुरा-नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको उम्मेदवारका रूपमा अघि बढाउन डडेल्धुरा कांग्रेसको अधिवेशनले सर्वसम्मत निर्णय गरेको छ।

डडेल्धुरा कांग्रेसको अधिवेशनबाट पारित निर्णयमार्फत महाधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिलाई महकै पक्षमा उभिन अपिल गरिएको छ।निर्णयमा भनिएको छ, ‘नैनसिंह महरको उम्मेदवारी कुनै व्यक्ति वा समूहको पक्षमा मात्र होइन, कांग्रेसको संगठनात्मक रूपान्तरण, ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण र राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणको प्रस्ताव हो।’

अधिवेशनबाट पारित अपिलमा महरलाई इतिहासको सम्मान गर्दै भविष्यको जिम्मेवारी बहन गर्न सक्ने नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ।  संगठनलाई व्यक्ति र गुटभन्दा माथि उठाएर संस्थागत बनाउने तथा बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार कांग्रेसलाई नयाँ सोच, नयाँ कार्यशैली र नयाँ राजनीतिक संस्कारसहित अघि बढाउनुपर्ने आवश्यकतासमेत औंल्याइएको छ।

महरले अघि सारेको कांग्रेसलाई ‘इभेन्ट-ड्रिभन’ होइन, ‘नलेज-ड्रिभन र नेसन-सेन्ट्रिक’ पार्टी बनाउने अवधारणालाई डडेल्धुरा कांग्रेसले आफ्नो अपिलको प्रमुख आधार बनाएको छ। संगठन, नीति र कार्यान्वयनबीचको दूरी घटाउँदै कांग्रेसलाई केवल पावर सेन्टर होइन, पर्फमेन्स सेन्टरका रूपमा विकास गर्नुपर्ने उनको अवधारणा आजको कांग्रेसको संस्थागत आवश्यकतासँग जोडिएको निर्णयमा उल्लेख छ।

अधिवेशनबाट पारित अपिलमा महरको उम्मेदवारीलाई कुनै व्यक्ति वा समूह विशेषको पक्षमा मात्र नभई कांग्रेसको संगठनात्मक रूपान्तरणसँग जोडिएको राजनीतिक प्रस्तावका रूपमा व्याख्या गरिएको छ। ज्ञानमा आधारित राजनीति, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणलाई महरको नेतृत्व अवधारणाका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ।

डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनका लागि औपचारिक अपिलसमेत गरेको छ।

डडेल्धुरा कांग्रेसको निर्णयले महरको महामन्त्री उम्मेदवारीलाई जिल्लास्तरीय समर्थनको विषयबाट अघि बढाउँदै १५औँ महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधिसमक्ष प्रस्तुत गर्ने राजनीतिक आधार तयार गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्