देउवाको संरक्षणमा हुर्किएको राजनीति

Image

संस्थापक सभापतिका रुपमा समाजवादी विचारधाराका प्रणेता स्व. एनडी प्रकाश चटौतको वरद नेतृत्व पाएको डडेल्धुरा कांग्रेसले कुनै समय अमर सहिद भीमदत्त पन्तको कुशल कमाण्डदेखि दक्षिण एसियाकै पहिलो महिला मन्त्री बन्ने सौभाग्य पाएकी द्वारिकादेवी ठकुरानीको पसिनाले सिञ्चित हुने अवशर प्राप्त गर्‍यो । स्वतन्त्रता सेनानी सत्यराज पनेरु, प्रजातन्त्र सेनानी पीएच भट्ट, डीएल भण्डारी, रुद्रबिर मल्ल, एलवी विष्ट, हिरादत्त भट्ट, रामचन्द्र चटौत, रघुबर भट्ट र कर्णबहादुर मल्ल जस्ता नेताहरुले मलजल गरेर डडेल्धुरालाई कांग्रेसको किल्ला बनाए । डडेल्धुरामा कांग्रेसको संगठन निर्माणका लागि जीवनभर संघर्ष गरेका सयौं नेता र हजारौं कार्यकर्ताहरुको सामुहिक लगनको प्रतिफल स्वरुप मतदाताहरुले पनि कांग्रेसलाई बिभिन्न जिम्मेवारी दिदैं आएका छन् ।

विद्यार्थी राजनीतिदेखिनै बहुदलीय प्रजातन्त्र पुर्नस्थापनाका लागि नेपाली कांग्रेसले थालेको आन्दोलनमा जोडिएर नेपाल विद्यार्थी संघको नेतृत्व गरेका शेरबहादुर देउवाले २०४८ सालदेखि भएका सातवटा आमनिर्वाचनमा डडेल्धुराबाट दिग्विजय हासिल गरे । पाँचपटक मुलुकको प्रधानमन्त्री बन्ने अवशर पाएका र पाको लोकतान्त्रिक पार्टी कांग्रेसको दुईपटक नेतृत्व गरेका देउवा हाल राजनीतिक जीवनको उत्तरार्धतिर कठोर राजनीतिक संकटको सामाना गरिरहेका छन् ।रास्वपाको चमात्कारिक उदयसँगै गत फागुनको आमनिर्वाचनमा खुम्चिएको कांग्रेस १५औं राष्ट्रिय महाधिवेनका क्रममा औपचारिक रुपमा विभाजन भइसकेको छ । विशेष महाधिवेशनबाट कांग्रेस नेतृत्वमा पुगेका गगनकुमार थापा पक्षले देशव्यापी रुपमा वडादेखि जिल्लास्तरका अधिवेशन सम्पन्न गरिसकेको छ । विशेष अधिवेशनको खिलापमा रहेका देउवाले विपी पुत्र डा. शशांक कोइरालालाई संयोजक तोकेर यहि असोज १५ गतेदेखि महाधिवेशन आरम्भ गर्ने तयारी गरिरहेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा प्रभाव देखाई सकेका देउवाको गृहजिल्लामा समेत थापा पक्षीय कांग्रेसले अधिवेशन सम्पन्न गरिसकेको छ । विधि, प्रकृया, वैधानिक ब्यवस्थाका विषयमा डडेल्धुरा कांग्रेसको अधिवेशनका सन्दर्भमा बिभिन्न टिकाटिप्पणी भइरहेका बेला भागेश्वर गाउँपालिकाको अधिवेशनका क्रममा पुर्व सभापति रघुबर भट्टले देउवाका विषयमा सार्वजनिक गरेको अभिब्यक्तिले चर्चा पाएको छ । भट्टले आफ्‌नै गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्नेक्रममा देउवाले शोषण गरेको दाबी गरेको भिडियो सामाजिक सञ्जालमा चर्चा परिचर्चाको विषय बनेको छ ।

कञ्चनपुरमा विद्यार्थी राजनीतिसँग जोडिएर बहुदल पक्षधर उम्मेदवारका रुपमा २०४२ सालमा तत्कालिन बगरकोट पञ्चायतको प्रधानपञ्चमा प्रतिष्प्रर्धा गरेका भट्टले झण्डै १५ बर्षसम्म डडेल्धुरा कांग्रेसको नेतृत्व गरे । कार्यकर्ताहरुको सहज पहुँच, जिल्ला राजनीतिमा विशेष प्रभाव र देउवासँगको घनिष्टताका कारण मिजासिला भट्टले कार्यवाहक सभापतिका रुपमा एक कार्यकाल जिल्ला विकास समितिको नेतृत्व गरे । देउवाको नेतृत्वमा प्रजातान्त्रिक कांग्रेस गठन भएका बेला डडेल्धुरा कांग्रेस सभापति रहेका भट्टले अधिकांस जिल्लास्तरीय नेता कार्यकर्ताहरुसँगै प्रजातान्त्रिक कांग्रेस रोजे । कांग्रेसमा गुटको राजनीति हावी हुँदा सदैव देउवा पक्षमा उभिदै आएका भट्ट यसपटक गगन पक्षमा उभिएर देउवाले शोषण गरेको दाबी गरिरहेका छन् ।

वास्तवमा रघुबर देउवाबाट शोषणमा परेका हुन त ? ऐतिहासिक तथ्यहरुले भट्टको राजनीतिक जीवनले निरन्तर देउवाको ओत पाएको पुष्ठी गर्छन् तर, कतिपय जिल्लास्तरीय नेताहरु देउवाको राजनीतिक छायाँमा नपरेका होइनन् । २०४८ सालको आमनिर्वाचनपछि गृहमन्त्री बनेका देउवाले २०४९ सालको स्थानीय निर्वाचनमा सहकर्मी हिरादत्त भट्टलाई जिल्ला विकास समिति डडेल्धुराको संस्थापक सभापति बनाउन निकै प्रयत्न गरेको पाका कांग्रेसजनहरु बताउछन् । सभापतिका आकांक्षी राजेन्द्र भट्टलाई मिलाउन भाई रघुबरलाई उपसभापतिको जिम्मेवारी दिइयो । जिल्ला पञ्चायतको सभापतिका रुपमा गणेशप्रसाद भट्टले लोकप्रियता हासिल गरेपछि पञ्चायतकालमा सातपटक डडेल्धुराबाट निर्वाचित नेता लालबहादुर खडायतको राजनीति सकिएको विषयका जानकार देउवाले भट्टलाई राष्ट्रिय सभाको सांसद बनाएपछि रघुबरको पोल्टोमा कार्यबाहक जिविस सभापतिको कागताली पर्‍यो ।

डडेल्धुरा कांग्रेसको राजनीतिका जानकारहरुका अनुसार देउवाकै आडमा रघुबर आश्चार्यजनक किसिमले डडेल्धुरा कांग्रेसको सभापति पदमा पुगेका हुन् । जिल्ला अधिवेशनले सर्वसम्मत सभापति चुनेका रामचन्द्र चटौतलाई सहमतिका नाममा महाधिवेशन प्रतिनिधि बनाइएन् । महाधिवेशन प्रतिनिधि नभएको ब्यक्ति सभापति हुन नसक्ने वैधानिक ब्यवस्थाको फाइदा उठाउँदै देउवाकै सहयोगमा रघुबर डडेल्धुरा कांग्रेसको नेतृत्वमा पुगे । चौथो जिल्ला अधिवेशनका क्रममा प्रजातान्त्रिक कांग्रेसको अधिवेशन गराएर भट्ट पुनः सभापति बने । पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत कर्णबहादुर मल्ललाई सभापति बनाए पनि पार्टीका हरेक निर्णयहरुमा रघुबर हावी भए । २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा देउवाकै सहयोगका कारण पार्टीलाई पाखा लगाएर रघुबर आफैले टिकट वितरण गरे । प्रदेशसभा सदस्य उम्मेदवार भएर पराजित भए ।

छैटौं जिल्ला अधिवेशनमा देउवा पक्षीय उम्मेदवार बनेका रघुबर झिनो मतले मल्लसँग पराजित भए । तत्पश्चात पनि उनले देउवाकै भरौसामा जिल्लाको पार्टी नेतृत्व भन्दा शक्तिशाली र सम्मानित राजनीति गरिरहे । सातौं जिल्ला अधिवेशनका क्रममा जिल्ला कार्यसमितिले सिफारिस गरेका क्रियासिल सदस्यता हेरफेर गरेर भट्टको समुहलाई देउवाले संरक्षण गर्न थालेपछि मल्ल पक्षीय नेता कार्यकर्ताहरुको बहिष्कारकाबीच भीमबहादुर साँउदलाई सभापति बनाइयो । देउवाको राजनीतिक शक्ति उपयोग गर्ने नेताहरुको श्रेणीमा साउँद पनि कम्ति छैनन् ।

भित्रिमधेस क्षेत्रमा कांग्रेसका संस्थापक नेता स्व. प्रेमसिँह थापालाई पन्छाएर २०४९ सालको स्थानीय निर्वाचनका क्रममा देउवाले साँउदलाई गाविस अध्यक्षको टिकट दिए । २०५४ सालको स्थानीय निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी साँउद पराजित भएपछि देउवाले जिविस सदस्यमा मनोनयन गर्न लगाए । नगर सभापति तारिसिँह बोहरालाई लत्याएर देउवाले २०५४ सालको निर्वाचनमा टिकट दिएपछि साउँद परशुराम नगरपालिकाको संस्थापक नगरप्रमुख बनेका हुन् । सातौं जिल्ला अधिवेशनमा कांग्रेसका इमान्दार कार्यकर्ताहरुको क्रियासिल सदस्यता काटछाँट गरेर देउवाले साँउदलाई सभापति बनाएका हुन् ।

रघुबरले सार्वजनिक अभिब्यक्ति दिएजस्तै संकटका बेला देउवालाई छोडेर गगन पक्षमा उभिएका डडेल्धुरा कांग्रेसका अधिकांस नेताहरुले देउवाको शक्ति उपयोग गरेर थुप्रै अवशर लिएका छन् । यद्यपि जीवनभर अवशरविमुख बनेका र देउवाको कोपभाजनमा परेर जिल्ला राजनीतिबाट पाखा लागेका नेताहरु पनि नभएका होइनन् । देउवाको पेलान खाएर पनि कांग्रेस राजनीतिमा निष्ठापुर्वक योगदान पुर्‍याइरहेका इमान्दार कार्यकर्ताहरु रघुबरको आरोप स्वीकार्दैनन् । उनीहरुको नजरमा देउवाबाट सबैभन्दा बढि फाईदा लिएका जिल्लास्तरीय अधिकांस नेताहरु हाल देउवाको खिलापमा छन् भने अधिकांस कार्यकर्ताहरु राजनीतिक संकटको बेला देउवालाई साथ दिने मनस्थितिमा छन् ।

प्रतिक्रिया जनाउनुहाेस्