धनगढी-कैलालीको थारु बस्तीमा परम्परागत सखिया नाचको रौनक सुरू भएको छ। दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् ।
अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका सूर्य चौधरीले बताए। यो पर्व सकिएपछि गाउँघरमा दसैँको तयारीस्वरूप परम्परागत एवम् मौलिक नृत्य सखिया नाचको पैँया लगाउन थालिएको छ । विभिन्न गाउँका महिलाले साँझपख सामूहिक रूपमा सखिया नाच नाच्न थालेका छन्। कैलारी गाउँपालिका–६ बेनौली गाउँ पनि सखिया नाच नाच्नका लागि बजाइने मादलको तालले गुञ्जायमान हुन थालेको छ। यो गाउँका महिला, युवतीले सखियाको पैँया लगाउन थालेका छन्। पैँया गीतविहीन नृत्य रहेको बताइन्छ ।
दसैंमा भने गीत गाउँदै सखिया नाच देखाइने गरेको जनाइएको छ। अट्वारी पर्व मनाइ सकेपछि गाउँमा सखियाको पैँया लगाउन थालिएको बेनौलीका सखिया नाचको मंदरिया (मादल बादक) वेद्प्रसाद महतोले बताए। उनले हरेक साँझबाट पैँया लगाउने कार्य सुरू भइ राति १० बजेसम्म सखियामा रमाउन थालिएको जानकारी दिए। “अब यहाँबाट दसैंसम्म गाउँमा सखिया नाचको पैँया लगाउँछौं,” उनले भने।
मादल र मजिराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्दछन् । मादल बजाउने ‘मंदरिया’को निर्देशन र मादलको ताल (खोट)अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ। साथी सङ्गीहरू मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भनिएको हो। थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन्। साथीहरु मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको बताइन्छ। सखिया नाच थारु समुदायको मौलिक लोक नृत्य हो।

















