के.बि.मसाल
कृषि र पर्यटनको आ–आफ्नै महत्व छ । दुबैलाई एकै ठाउँमा समन्वय गरेर विकास गर्ने हो भने कृषि र पर्यटन दुबैको विकास हुन्छ । तर यस्तो योजना पर्यटनको क्षेत्रमा सरकारले बनाएको पाँइदैन । कृषि र पर्यटन दुबैलाई समन्वय गरेर विकासको योजना बनाउँदा ग्रामीण क्षेत्रमा पर्यटनको विकास हुन्छ । पछिल्लो समय पर्यटकहरुको रुचि फेरिएको छ । पर्यटकहरु ग्रामीण जीवन र ब्यवसायीक कृषि उत्पादन हुने क्षेत्रमा घुम्न रुचि राख्दछन ।
पर्यटनको क्षेत्रमा धेरैले सुदुरपश्चिम को डोटी भन्ने बित्तिकै शैलेश्वरी मन्दिर, खप्तड लेक र ऐतिहासिक कोट र मन्दिर मात्र सम्झन्छन । तर डोटीमा पर्यटकहरुका लागि घुम्ने ठाउ धेरै छन । डोटीमा उच्च पहाडी क्षेत्रदेखि चुरेसम्मको भूबनोटमा पर्दछ । प्रकृति प्रेमी पर्यटकहरुलाई डोटीमा खप्तड लेक, तेले लेख, सकार लेक, महाभारत लेक, गोलेदेउ लेक जस्ता उच्च पहाडी लेकाली फाँट र पाटनले पर्यटकहरुलाई तान्ने गर्दछ । अर्को तर्फ दिपायल, बाण्डुग्रीसैन, तलारा, नारीदाङ्ग जस्ता सेती किनारका कृषि योग्य फाँटहरुले समेत पर्यटकहरु आकर्षित हुन्छन । डोटीमा सेती र यसका सहायक खोलाहरुले बनाएका उर्वर उपत्यकाहरु छन । जुन डोटीको अन्न भण्डार र कृषि पर्यटनको लागि पुग्ने पर्ने ठाउ हुन । दक्षिणी डोटीमा पर्ने बोगटान क्षेत्र, बडीकेदार र बानलेकका फाँटहरु, गोपघाट र सेती किनारका बेसीहरु पनि कृषि पर्यटनका भूगोल हुन । तर डोटीमा सबैभन्दा ठूलो र उर्वर कृषि उपत्यका भने जोरायल उपत्यका हो ।
डोटीको दक्षिण पश्चिम क्षेत्रमा पर्ने जोरायल उपत्यका ग्रामीण कृषि पर्यटनका लागि पुग्नै पर्ने ठाउ हो । जोरायल उपत्यका बासमती धानको उत्पादन हुने उपत्यका मात्र नभएर पर्यटनका लागि महाभारतकालीन कथा, कत्यूरीकालीन इतिहास लुकेको उपत्यका पनि हो । नेपालका पहाडी जिल्लाहरुमा नदी र खोलाका किनारमा बसेका सुन्दर उपत्यकाहरु धेरै छन । तर ती मध्ये जोरायल उपत्यका आफ्नै पहिचान र महत्व बोकेको उपत्यका हो । यो उपत्यका कृषि पर्यटन, इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यको जीवन्त संग्रहालय पनि हो । जोरायल उपत्यका पुग्ने पर्यटकहरुले एकैसाथ हराभरा खेतको सौन्दर्यमा रमाउन, स्थानीय सभ्यता र परम्परालाई समेत आफ्नो यात्रामा नजिकबाट बुझन र अध्ययन अवलोकन गर्न सक्छन । जोरायल उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले पर्यटकहरु को रोजाइमा पर्ने गर्दछ । उपत्यकाको हराभरा डाँडाकाँडा, वन, बिचमा नागवेली आकारमा बग्ने कर्मनासा अर्थात कनर्नसा खोलाको मनोरम दृश्य र शान्त वातावरणले पर्यटकहरुलाई आकर्षित गर्ने गर्दछ । स्थानीय देउडा संस्कृति, लोकगीत, लोकनृत्य, जात्रा तथा परम्परागत चाडपर्व जोरायलका प्रमुख सांस्कृतिक सम्पदा हुन । ग्रामीण जीवनशैली, स्थानीय परिकार तथा मौलिक संस्कृतिको अनुभव गर्न चाहने पर्यटकका लागि जोलायल क्षेत्र अहिले आकर्षक बन्दै गएको छ ।
सिलगढीबाट लगभग ६० किलोमिटर दक्षिण पश्चिम दिशा तिर पर्ने रमणीय उपत्यकाको नाम नै जोरायल हो । जोरायल उपत्यका को वरिपरि महाभारत पर्वत श्रृखला, घण्टेश्वर लेक, जलादेवी पर्वत जस्ता अग्ला डाँडाकाडाको, बीचमा समथर सुन्दर उपत्यका बनेको छ । यसको समथर भूभागको बीच भएर बग्ने कनर्नसा नदीको नाम कर्मनासा अर्थात कर्नासा हो । यसको सहायक नदी गोमतीगाड र काफली गाड जलादेवी पर्वतको काखबाट बगेर आएर दोभानमा मिसिन्छ, त्यसपछि मात्र कर्मनासा बन्छ । तर त्हि नदीलाई तल्लो भेगमा ठूलीगाड पनि भनिन्छ । यो नदी जोरायल उपत्यका हुदै बढिकेदारको ओखलढुङगाको पिपलकुण्डामा पुगेर कर्णाली नदीमा मिसिन्छ । पर्यटकहरु जोरायल उपत्यका पुग्ना साथ कर्मनासा नदीको वरिपरि देखिने कृषि योग्य धानका फाँट सहितको वरिपरिको प्राकृतिक दृश्यले मोहित हुन्छन । जोरायल जाने पर्यटकहरु धेरैले बुडर बजार नजिकै रहेको झरनामा रमाउने गर्दछन । पानीको छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले पर्यटकहरु लोभिन्छन ।
कृषि पर्यटनमा जोरायललाई चिनाउने भनेकै जोरायली बासमती धान हो । जोरायली हंसराज बासमती धान नेपालमा अन्यत्र कतै उत्पादन नहुने रैथाने जात हो । यो धानको छुट्टै पहिचान छ । जोलायत उपत्यकाको सुमालगाउँको सेरोफाँट यसको पकेट क्षेत्र हो । तर पनि धननास, कुडिकोट, रावल गाउँ, जिजीकोट, काफलि, सिलिङगीबाध, चनकट्टे राउतकट्टे, भजना, लस्करलगायतका गाउँहरुमा जोरायली बासमती धानको खेती हुन्छ । विशेष गरी यी क्षेत्रमा उत्पादन भएको धानको गुणस्तर सबैभन्दा राम्रो मानिन्छ । जोरायली धानको बीउ जेठ महिनामा ब्याडमा राख्ने र असारमा रोपाइँ गरिन्छ । खेतमा नियमित सिँचाइ, गोडमेल गरिन्छ । मंसिर महिनातिर धान पाकेपछि काटिन्छ । अर्को वर्षका लागि किसानहरुले उत्कृष्ट बाला छुटयाएर बीउ सुरक्षित राख्ने चलन छ । जोरायली बासमती धान जोलायर उपत्यका को सामाजिक र सांस्कृतिक जीवनसँग जोडिएको छ । विवाह, व्रतबन्ध, दशैं, तिहार तथा अन्य शुभ अवसरमा जोरायली बासमती चामलको भात पकाउने परम्परा छ । पाहुनालाई सम्मानपूर्वक जोरायली बासमती को भात खुवाउने चलनले पनि यसको महत्व छुट्टै छ । जोरायली धान पाक्दा पूरै उपत्यका सुनौलो हुन्छ । कुनै घरमा भात पाक्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ ।
जोलायलमा उत्पादन हुने जोरायली बासमती धान आफ्नो विशिष्ट सुगन्ध, स्वाद, मसिनो तथा लामो दानाका कारण देशभर परिचित छ । यो स्थानीय किसानहरुले पुस्तौंदेखि संरक्षण गर्दै आएको रैथाने धानको जात हो । आजभोली जोरायली बासमती धानकै कारण धेरै कृषि पर्यटनमा रुचि राख्ने पर्यटकहरु जोरायल उपत्यकामा पुग्दछन । पहिलो पटक जोलायल उपत्यकामा पुग्ने पर्यटकले बासमती चामलको भातको स्वाद लिना साथ अचम्म मान्दै भन्छ भातमा पनि यस्तो बास्ना र स्वाद ? जोरायल क्षेत्रमा उर्वर दोमट माटो, पर्याप्त वर्षा र मध्यम तापक्रम पाइन्छ । यिनै प्राकृतिक विशेषताले जोरायलको बासमती धानलाई विशिष्ट गुण प्रदान गरेको छ । जोरायली बासमती धान स्थानीय किसानहरुले धेरै पुस्तादेखि संरक्षण गर्दै आएको रैथाने जात हो । यसको बीउ बाहिरबाट ल्याइएको भन्ने प्रमाण छैन । प्रत्येक वर्ष उत्कृष्ट धानको बाला छनोट गरी बीउ राख्ने परम्परा अहिले पनि छ । प्राकृतिक सौन्दर्य,उर्वर भूमि,सांस्कृतिक विविधता तथा ऐतिहासिक महत्व भएको जोरायल उपत्यकामा पर्यटकहरुले धेरै कुरा सिक्न सक्दछन ।
जोरायल उपत्यकाका अधिकांश मानिसको मुख्य पेसा कृषि हो भने पछिल्ला वर्षहरुमा पर्यटन क्षेत्रको पनि विस्तार हुँदै गएको छ । कृषि, पर्यटन र स्थानीय संस्कृतिको समन्वयले जोरायल उपत्यकालाई डोटीको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित गरेको छ । जोरायल उपत्यका महाभारत पर्वत श्रृखलाको प्रभाव क्षेत्रमा पर्दछ । यहाँको हावापानी समशीतोष्ण प्रकृतिको भएकाले कृषि उत्पादनका लागि उपयुक्त वातावरण हुन्छ । वर्षायाममा पर्याप्त वर्षा हुने र अन्य समयमा मध्यम तापक्रम रहने भएकाले विभिन्न प्रकारका खाद्यान्न, फलफूल तथा तरकारी उत्पादन हुने गरेको छ । अर्को तर्फ वन, खोलानाला तथा जैविक विविधताले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । जोरायलका अधिकांश परिवार खेतीपाती र पशुपालनमा निर्भर छन । यहाँ बासमती धान मात्र नभएर मकै, गहुँ, कोदो, फापर, तोरी, मसुरो, केराउ तथा विभिन्न दलहन बाली पनि उत्पादन हुन्छ । अर्को तर्फ तरकारी व्यावसायिकहरुले पछिल्लो समय तरकारी गर्न थालेका छन । फलफूल खेतीतर्फ सुन्तला, कागती, अम्बा, आँप, आरु, नासपाती ससमेत उत्पादन हुन्छ । गाई, भैँसी, बाख्रा र कुखुरापालनले किसानको आम्दानी बढाउन सहयोग पुर्याएको छ । पछिल्लो समय मौरीपालन र नगदे बाली खेतीप्रति पनि किसानको आकर्षण बढदै गएको छ ।
पर्यटनको लागि जोरायल उपत्यका लुकेको भूस्वर्ग हो भन्दा पनि हुन्छ । जोरायल उपत्यका अहिले घण्टेश्वर, छतिवन, सरश्वतिनगर, लक्ष्मीनगर, गडसेरा, निरौली समेत ६ वाडमा बिभाजन भएको छ । उपत्यकाको वरिपरि खेति योग्य फाँट, बीचमा नदी र छेउछाउमा मौलिक गाउँघरले कृषि पर्यटनका लागि खोजअनुसन्धान गर्ने थलो बनेको छ । जोरायल उपत्यकामा धार्मिक र ऐतिहासिक स्थल धेरै छन । जोरायलका प्रमुख देवता घण्टेश्वर, जलादेवी मालिका भगवती, चण्डेश्वर र गुफाकेदार हुन । तर पनि जोरायल पुगेपछि पर्यटकहरुले घण्टेश्वर मन्दिर, निरौली कोट र निरयपाल कोट,कत्यूरीकालिन दरबारको भग्नावशेष, भीमछेदन शिला अर्थात चनकट्टे भीमले जरासन्धलाई च्यातेको ठाउँ भनिने शिला भएको ठाउमा पुग्न खोज्दछन । अर्को तर्फ पर्यटकहरु जलादेवी मालिका, चण्डेश्वर, गुफाकेदार, गन्याप देवस्थान पनि पुग्दछन । पछिल्लो समय जोरायल पुग्ने पर्यटकहरुका लागि पोखरीडाँडामा डोटेली कला, संस्कृति को सग्रहालय स्थापना गरिएको छ । पर्यटकहरुले सग्रहालयमा डोटेली कला,संस्कृति, सभ्यता, परम्परा र इतिहासका बारे जानकारी समेत लिन सक्दछन ।
जोरायलको सबैभन्दा अनौठो संस्कृति भस्सो जात्रा हो । जोरायलको भोस्सो जात्रा पर्यटकहरुलाई नौलौ अनुभुति हुन्छ । जोरायलको सबैभन्दा चर्चित संस्कृति भस्सो र भोस्सो हो । तर यो जात्रा हेर्न भने भाई टिकाको दिन जोलायल पुग्नु पर्दछ । भाईटिकाको राति चडयौली थानमा युद्धको मोर्चाबन्दी जस्तै गरेर गरिने यो जात्रा डोटीमा अन्त कतै देखिँदैन । भोस्सो जात्रा जोरायलको शक्तिशाली देवता चडयौलीथानलाई खुसी पार्नका लागि गरिन्छ । महाभारतमा जरासन्धलाई राक्षस भनिए पनि जोरायलमा चडयौलीथानलाई देवताकै रुपमा पूजा गरिन्छ । यो जात्रा नगरे देवता रिसाएर अनिष्ट गर्छन भन्ने विश्वास छ । यो जात्रा हेर्दा युद्ध कलाको झल्को हुन्छ । भाइटीकाको दिन दिदीबहिनीको हातबाट टीका लगाएर खाना खाएपछि सबैजना लक्ष्मीनगरको सिलंगीबाग बजारमा जान्छन । स्थानीय भाषामा यसलाई दुत्तेको मेला भनिन्छ । त्यहीँ चडयौलीथान देवताको थान छ । चडयौंलो भन्ने स्थानीय रुखको नाम हो । यहाँ मन्दिर छैन, खुला थान मात्र छ । न्याय दिने देवताका रुपमा पुजिने यी देवतालाई भाकल पूरा भएपछि भक्तजनले बोका, घण्टा, त्रिशूल र ध्वजा चढाउँछन ।
इतिहासमा रुचि राख्ने पर्यटकहरु प्राचीन कत्यूरी वंशको बारेमा खोज अनुसन्धान गर्दछन । ऐतिहासिक हिसाबले जोरायल प्राचीन कत्यूरी वंश र पछि डोटी रैकाहरुको प्रभाव क्षेत्र हो । यहाँको निरौली कोट कत्यूरी वंशज राजाको किल्ला हो, जुन अहिले जोरायल गाउँपालिका वडा नं ६ मा भग्नावशेषको रुपमा रहेको छ । यो कोटले डोटी राज्यको १३ सय वर्ष पुरानो इतिहाससँग जोडिन्छ । जोरायललाई चारैतिर अग्ला होचा बृक्ष वनस्पति युक्त डाँडाकाँडाले घेरिएको सुन्दर उपत्यका मानिन्छ । पर्यटकहरु जोलायल पुग्दा निरौली कोट पुगेन भने यात्रा अधुरो हुन्छ । इतिहासको अर्को जीवन्त प्रमाण हो निरौली कोट । निरौलीमा रहेको कोटको भग्नावशेष डोटीको अजयमेरु कोट, उकु कोट, रिसेडी कोटसँग पनि जोडिएको छ । सन १४३९ मा तत्कालीन निरैपाल राजाले आफ्नो शासनकालमा दरबार निर्माण गरेका थिए, र पछि उनकै नामबाट ठाउँको नाम निरौली रहन गएको जनश्रुति भेटिन्छ ।
जोरायल क्षेत्रमा घुम्न जाने कतिपय पर्यटक इतिहास र प्राकृतिक सौन्दर्य अवलोकन गर्न तेले लेक पुग्ने गर्दछन । खप्तड लेखको झल्को दिने तेले लेक ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । तेले लेक प्राचीन समयदेखि स्थानीय बासिन्दाको चरन क्षेत्र, वन स्रोत र धार्मिक आस्थासँग जोडिएको स्थान हो । यहाँका केही स्थानहरुमा ऋषिमुनिहरुले तपस्या गरेको देवी–देवतासँग सम्बन्धित लोककथा पनि छन । प्राकृतिक सौन्दर्य तेले लेक घना वन, हरियाली डाँडाकाँडा र स्वच्छ वातावरणले भरिपूर्ण छ । यहाँबाट डोटी, कैलाली तथा वरपरका पहाडी भू–दृश्यहरु अवलोकन गर्न सकिन्छ । मौसम सफा हुँदा टाढाका हिमश्रृखलाको दृश्य पनि देखिन सक्छ । वसन्त ऋतुमा वनमा विभिन्न जंगली फूलहरु फुल्दा तेले लेक अझ आकर्षक देखिन्छ । तेले लेक पर्यटन, पदयात्रा अर्थात हाइकिङ, प्रकृति अवलोकन, फोटोग्राफी तथा पिकनिकका लागि पुग्नै पर्ने ठाउ हो ।
अब जोरायल उपत्यकालाई कृषि पर्यटनको पकेट क्षेत्र बनाउनुपर्छ । बासमती धान, मकै, गहुँ मात्र होइन, ड्रागन फ्रुट, एभोकाडो, आँप, लिची, मेवा, केरा, कटहर, कागती जस्ता आम्दानी दिने फलफूल कुन गाउँमा लगाउने भन्ने स्पष्ट योजना चाहिन्छ । पकेट क्षेत्र बनाएर खेती गरेपछि गाउँमा पर्यटक पुग्दछन । पर्यटकले खेती हेर्ने मात्र होइन, स्थानीय उत्पादन किनेर पनि लैजान्छन । यसले उत्पादन बढ्नुका साथै बजार, प्रविधि र सूचनाको आदानप्रदान हुन्छ । मौलिक संस्कृति, सामाजिक सदभाव र होमस्टेको विकास हुन्छ । स्थानीय परिकार र हस्तकलाले बजार पाउँछ । जोरायलको कृषिलाई पर्यटनसँग, संस्कृतिलाई प्रकृतिसँग र इतिहासलाई वर्तमानसँग जोडन सके यो सुदूरपश्चिमकै उत्कृष्ट कृषि पर्यटन गन्तव्य बन्न सक्छ । त्यसका लागि स्थानीय सरकारले जोरायली बासमतीको ब्रान्डिङ, निरौली कोटको संरक्षण र बुडर–जोरायल सडकको स्तरोन्नति गर्न पर्दछ । जोरायल क्षेत्रमा होमस्टे, पदयात्रा, कृषि, धार्मिक र सांस्कृतिक पर्यटनको ठूलो सम्भावना छ । तर सडक, आवास, सूचना केन्द्र र प्रचारप्रसार जस्ता पूर्वाधारको विकास आवश्यक छ ।
अहिले जोरायल क्षेत्रका कृषकहरुलाई आधुनिक प्रविधि र गुणस्तरीय बीउको कमी, बजारसम्म पहुँच नहुनु र युवाहरुको विदेश पलायन मुख्य चुनौती छन । खडेरी, असिना, रोग, बाँदरले हरेक वर्ष किसानको लगानी खेर गइरहेको छ । त्यसको समाधानका लागि आधुनिक प्रविधि, सिँचाइ विस्तार, यान्त्रिकीकरण, किसान तालिम, बजार व्यवस्थापन र बाली तथा पशु बीमाको व्यवस्था गरेर लगानी सुरक्षित गर्नुपर्छ । कृषक समूह, सहकारी मात्र होइन, निजी लगानीबाट पनि कृषि पर्यटन सम्भव छ । सरकारले अनुदान, तालिम र ग्रामीण सडकमा ध्यान दिए गाउँमै आम्दानी र पर्यटन विकास हुन्छ । जोरायल डोटीको कृषि, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । कृषि र पर्यटनको सन्तुलित विकास गर्न सके यसले रोजगारी, आयआर्जन र जीवनस्तर सुधारमा ठूलो योगदान दिन्छ । जोरायल घुम्नका लागि कार्तिकमा लाग्ने भस्सो जात्रा र मंसिरमा बासमती पाक्ने बेला पुग्न सके राम्रो हुन्छ ।
कसरी पुग्ने ?
जोरायल उपत्यकामा पुग्न महाकाली राजमार्ग अर्थात भिमदत्त राजमार्गमा पर्ने बुडहरबाट करिव १७ किलो मिटर यात्रा गर्नु पर्दछ । भने दिपायबाट यात्रा गर्दा समुहागाड देखि गडसेरा हुदै जोलायल सम्म ४६ कि.मि.को यात्रामा पुग्न सकिन्छ ।
प्रतिक्रिया जनाउनुहाेस्









