डडेल्धुरा–नेपाली कांग्रेसभित्रको असन्तुष्ट समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त समूहले साउन २९-३१ गतेसम्म हुने राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने जानकारी गराएको हो । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाले देउवा साउन २६ गते स्वदेश आउने र उक्त भेलामा सहभागी हुने बताए । त्यस्तै उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए त्यसको विरोध गर्ने जनाए ।
जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा अहिले श्रीमती आरजु राणासहित हङकङमा छन् । उनी साउन २६ गते साँझ नेपाल फर्किने उनीनिकटका नेताहरूले जानकारी दिएका छन् । उनीमाथि राज्यको तर्फबाट धरपडक हुने आशंका व्यक्त गर्दै सोधिएको प्रश्नमा कोइरालाले भने, ‘उहाँमाथि धरपकड भए विरोध गर्छौं ।’
देउवा फर्किने विषयमा नेपाल प्रहरीले पनि अध्ययन गरिरहेको बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा देउवा नेपाल फर्किनेबारे सोधिएको प्रश्नमा प्रहरी प्रवक्ता अबिनारायण काफ्ले भन्छन्, ‘हामी हेर्दैछौं। बुझ्ने काम हुँदैछ ।’














