भोटेकोशी विपद् : सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

Image

डडेल्धुरा–भोटेकोशी नदीमा अकस्मात आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सम्पर्कविहीन हुनेमा चार जना सुरक्षाकर्मीसमेत छन् । विपद्मा तीन प्रहरी र एक सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका हुन् । बाढीपछि परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेकाहरूमा सबैभन्दा धेरै कञ्चनपुरका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५ र बाजुराका १४ जना सम्पर्कविहीन छन् । यस्तै बैतडीका चार, डोटीका दुई र अछामका एक जना सम्पर्कविहीन भएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीनको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ’जिल्ला–जिल्लाबाट विवरण संकलन भइरहेको छ,’ एसएसपी बिष्टले भने, ‘प्राप्त विवरणअनुसार अहिलेसम्म ८५ जना सम्पर्कविहीन देखिएका छन् ।’
रसुवा पुगेका सुदूरपश्चिमका नागरिकको अवस्था यकिन गर्न सम्बन्धित परिवार तथा स्थानीय तहले खोजी तथा समन्वय गरिरहेका छन । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी हाइड्रो पावरमा काम गर्ने मजदुर छन् । केही सरकारी तथा विभिन्न संस्थामा कार्यरत कर्मचारी रहेका छन् । प्रदेश प्रहरीले प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्