बाजुरा-बाजुरामा ग्रामीण सडक मर्मत सम्भार कार्य नहुँदा बिरामीलाई अस्पताल लैजान समस्या हुने गरेको छ।
गएको जेठदेखि अवरुद्ध बनेको सडक हालसम्म निर्माण भएको छैन । सडक सुचारु नहुँदा हाल यहाँका बिरामीलाई अस्पताल पुर्याउन किनै सास्ती हुने गरेको हो। स्थानीय चक्र रोकायाका अनुसार गाउँमा बिरामीहरूलाईसमेत स्ट्रेचरको सहाराले अस्पताल लैजानुपरेको छ । “गाउँमा युवा कोही पनि छैनन्। अहिले बर्खाको समयमा झनै समस्या हुने गरेको छ। जसकारण सडक अवरुद्ध हुँदा बिरामी बोक्न समस्या हुने गरेको छ,” उनले भने।
उनका अनु्सार हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका गौमुल, बुढीगङ्गा त्रिेवेणी र खप्तड छेडेदह लगायतका अधिकाशं गाउँ बस्ती पछिल्लो समय ग्रामीण सडक सञ्जालको पहुँचमा रहेका छन्। स्थानीय तहले निर्माण गरेका ग्रामीण सडकले यहाँका स्थानीयहरूलाई हिउँदको महिना केही सहज बनाएपनि वर्खाको समय भने उनीहरूलाई यी सडकमा सास्ती हुने गरेको उनको भनाइ छ।
स्वामिकार्तिक खापर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिंह भण्डारीका अनुसार गाउँपालिका नजिकमा रहेका केही सडक मर्मत गर्ने काम सुरु भएको छ। लगातार पानी परेको र त्यसले पुनः पहिरो झर्न सक्ने भएकाले सडक मर्मत गर्न समस्या भइरहेको भण्डारीले बताए। स्थानीय तहले सडक मर्मत गर्न लागेको भएपनि पानी नरोकिएको कारण ती सडक पुनः भत्किन थालेपछि ग्रामीण सडक सुचारु गर्न समस्या भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।














