डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताको विकासप्रतिको उत्कट चाहना अझै पूरा हुन नसकेको बताएका छन् ।
उनले विगतका कामको गम्भीर समीक्षा गर्दै आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन देखिने गरी विकासका योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । बुधबार जिल्ला समन्वय समिति डडेल्धुराको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनताको अपेक्षाअनुसार राज्यका संयन्त्रले काम गर्न नसकेको स्वीकार गरे । कार्यशैलीमा परिवर्तन गर्न आवश्यक रहेको जिकिरगर्दै उनले प्रदेश सरकारले पुर्नलेखन गरेर ल्याउने बजेट विगतका सबै बजेटभन्दा प्रभावकारी र जनमुखी हुने दाबी गरे ।
मुख्यमन्त्री भट्टले जनप्रतिनिधि र कर्मचारीले अझै पनि जनताको पूर्ण विश्वास जित्न नसकेको बताए । जनताले तिरेको राजस्व दुरुपयोग भएको छैन भन्ने विश्वास दिलाउने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए । पारदर्शिता, सुशासन र निष्ठालाई व्यवहारमै स्थापित गर्ने गरी सबैले संकल्प गर्नुपर्ने मुख्यमन्त्री भट्टले औल्याए । मुख्यमन्त्री भट्टले राजनीतिक मतभिन्नता भए पनि विकास निर्माणका सवालमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । विकासका मुद्दामा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर एकता र सहकार्य कायम गर्नुपर्ने उनको भनाइ छ । “राजनीतिक मतभिन्नता आफ्नो ठाउँमा हुन्छ, तर विकासका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने “जनताको जीवनमा परिवर्तन ल्याउने विकासका लागि सबैको साझा संकल्प आवश्यक छ ।”














