धौलीगङ्गा बाँधको ढोका ३४ घण्टा खोलिने

Image

डडेल्धुरा–छिमेकी मुलुक भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लास्थित धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बाँधको ढोका खोलिने भएको छ। ढोका खुलेमा महाकाली नदीको जल सतह बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन तपोवन भारतबाट जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई सूचना प्राप्त भएको आधारमा सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर रोकायाले जानकारी दिए। प्राप्त सूचनाअनुसार असोज ११ गते आइतबार राति १२ बजेदेखि असोज १२ गते सोमबार बिहान १० बजेसम्म ३४ घण्टा धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने छ। स्थानीय प्रशासनका अनुसार एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्नेबारे पत्राचार गरेको हो।

बाँधको ढोका खोलिने भएपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको जानकारीका लागि सूचना जारी गरिएको हो। नदी तटीय क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान सूचनामार्फत आग्रह गरिएको छ। भारतीय पक्षले वर्षाको समयमा सरसफाइ गर्ने भन्दै बेला–बेला बाँधका ढोका खोल्दै आएको छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो। २८० मेगावाट विद्युत क्षमताको धौलीगङ्गा बाँध छिरकिल्लामा पर्दछ। परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी रोकायाले बताए।

प्रतिक्रिया जनाउनुहाेस्