पटराखल्लाका ९ परिवार सुरक्षित स्थानमा सारियो

Image

कञ्चनपुर-मौसम तथा पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कञ्चनपुरमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ।

अहिले कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाका केही स्थानमा वर्षा भइरहेको छ। महाकाली नदीमा पानीको बहाव ३४ हजार क्युसेक मात्रै रहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतले बताए। रावतका अनुसार, जोगबुडा नदीमा पानीको सतह बढेर बस्तीमा पस्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

उनीहरूलाई नजिकैको वडा कार्यालय र जमुनाघाडी विद्यालयमा स्थानान्तरण गरिएको हो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा परिवारका सदस्यसँगै आवश्यक खाद्यवस्तु तथा पशुचौपायासमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। टराखल्ला जोगबुडा नदीको जोखिममा रहेको बस्ती हो । यस क्षेत्रमा विगतमा पनि नदीमा पानीको बहाव बढ्दा बस्ती डुबानमा पर्ने गरेको छ। मौसम पूर्वानुमानअनुसार आगामी दिनमा वर्षा बढ्न सक्ने भएकाले नदी तटीय तथा होचा भू–भागका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्