बैतडी-बैतडीको देहीमाण्डौस्थित निङ्गलासैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा जात्रा सम्पन्न भएको छ । भाद्र शुक्ल द्वादशीदेखि सुरु भएको जात्रा चतुर्दशीका दिन मुख्य मेला लाग्छ।
निङ्गलासैनी भगवती मन्दिर व्यवस्थापन समितिका अनुसार शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरमा पूजाआजा गरेपछि जात्रा सुरु हुन्छ। जात्राका लागि भक्तजन द्वादशीदेखि नै मन्दिरमा पुगेर तीन रात जाग्राम बस्ने गरेका छन्। मन्दिरका पुजारी लोकराज भट्टका अनुसार द्वादशीदेखि अनन्त चतुर्दशीको दिन विशेष पूजाआजा तथा दर्शनका लागि बैतडीका विभिन्न क्षेत्रसँगै जिल्लाबाहिरबाट समेत भक्तजन आउने गरेका छन्। चतुर्दशीको जात्रामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरी समुदायले छुट्टाछुट्टै जात्रा ल्याउने परम्परा छ।
परापूर्वकालमा निङ्गलासैनी भगवतीले न्याय दिएको विश्वाससँग जोडेर दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रहिआएको स्थानीय तिलक बोहोराले बताए। निङ्गलासैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गर्छ। महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमामा लाग्ने मेलामा भने बलि दिने प्रचलन छैन। मेलामा बैतडीका विभिन्न क्षेत्रका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थी आउने गरेका छन्। निङ्गलासैनी भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासका कारण जात्राका बेला मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको स्थानीय बताउँछन्।














