डडेल्धुरा – प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ । आराध्य भगवान महेश्वर र माता पार्वतीलाई आह्वान गरेर पहिलो दिन घर घरमा बिरुडा राखि गौरापर्वको औपचारिक आरम्भ गर्ने लोक रिति र शास्त्रीय पम्परा छ । यसरी बिरुडा भिजाएर गौरा पर्वको आरम्ग हुने दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, केराउ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने मानस खण्ड संस्कृतिका जानकारहरु बताउछन् ।
“एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ”, गौरा संस्कृतिका जानकार तथा चर्चित डेउडीया कृपादत्त भट्टले भने, “बिरुडा भिजाउँदा माङ्गल, सगुन फाँग गाएर भगवान महेश्वर माता गौरीको आह्वान गरिन्छ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।
फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने संस्कृतिका जानकार भट्टले बताए । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उनले भने, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।
सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएका साउँ, धान, तिल, कुर्जो अपामार्ग र बलजस्ता पञ्च वनस्पतिबाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्राइने व्रतालु महिलाहरु बताउछन् । गौराको प्रतिमुर्ति बनाएर अमुर्तभरणी सप्तमीको दिन गौरा भित्र्याइन्छ । अष्टमीको दिन गौरा मातालाई लिन महेश्वर आउँने विश्वासकासाथ महिलाहरू गौरा–महेश्वरलाई शिरमा राखेर खेलाउँछन् । मांगल गान, सगुन र फागसँगै अठ्यावाली गुञ्जिन्छ । अठ्यावाली मनाएसँगै ब्रतालु महिलाहरुले दुब्धागो लगाउछन् । बिरुडाले घरका सदस्यको टाउको पूजा गरिन्छ । गौरा लोकपर्वका बेला देउडाको घेरोमा गाउँ बस्तीहरु रमाउँछन् ।
गौरा अष्टमीलाई कतिपय परम्परामा दुर्वाष्टमीसँग जोडिन्छ । दुर्वा अर्थात् दुबो हिन्दु धार्मिक परम्परामा पवित्र वनस्पतिका रूपमा स्थापित छ । दुबो काटिए पनि फेरि पलाउँछ । यही कारणले लोकविश्वासमा यसको सम्बन्ध दीर्घायु, सन्तान, वंशवृद्धि र निरन्तरतासँग जोडिएको देखिन्छ । गौरा पर्वमा दुबोको महत्वले शास्त्रीय र स्थानीय कृषि–जीवनबीचको सम्बन्ध पनि देखाउँछ । गौरा सम्बन्धी आधुनिक नेपाली धार्मिक व्याख्याहरूमा हेमाद्रिको व्रतसम्बन्धी साहित्यलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रस्तुत गरिएको छ ।
गौरा शास्त्रीय गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिसँग सम्बन्धित, तर सुदूरपश्चिमको स्थानीय लोकसंस्कृति, कृषि जीवन र मौखिक साहित्यले विशिष्ट रूप दिएको धार्मिक लोक पर्व हो । मानसी लोक पर्व गौराको यही जीवन्त परम्पराले गौरी–पार्वतीको प्राचीन धार्मिक आख्यानलाई यँहाको समाजले आफ्नो कृषि, परिवार, नारीजीवन, भाषा र लोकविश्वाससँग जोडेर ‘गौरा’मा रूपान्तरण गरेको अनुमान गर्न सकिन्छ ।
“गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गछौँँ”, स्थानीय कलावती जोशीले भनिन्, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिनछ ।
सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौरा पर्वको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढेको छ । गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु उमेर समुह अनुसार छुट्टाछुट्टै रुपमा गोलबद्ध भइ स्थानीय लोक भाषामा डेउडा, चैत, धमारी ढुस्को आदि खेल खेलेर आनन्द लिने गर्छन् । बिरुडा भिजाएसँगै गौरापर्वको औपचारिक रुपमा शुरुवात भएको डडेल्धुरा सदरमुकाम निवासी पार्वती जोशीले बताइन् ।
स्थानीयहरु आ–आफ्नो टोलको मुख्य एक स्थानमा जम्मा भएर पूजाआजा र डेउडा खेल्दै गौरा पर्वको समापन गर्ने गर्छन् । गौरा पर्वका अवशरमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने प्रचलन छ । गौरा पर्व मनाउन कामको लागि विदेशिएका र घरबाहिर रहेका सर्वसधारणहरु गाउँ फर्किने गर्छन् । गौरा पर्वका कारण ग्रामीण क्षेत्रमा रौनकता बढ्न थालेको र पछिल्लो समय सहरी क्षेत्रमा पनि गौरा धुमधामसहित मनाइन्छ । गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि ठाउँ ठाउँमा गरिन्छन् ।




















