प्राचिन मानसखण्डको भौगोलिक इतिहास पौराणिककालिन मानिन्छ। मानसरोवरदेखि आधुनिक नेपालको गण्डक, कर्णाली, सेती, महाकाली र छिमेकी मुलुक भारतको उत्तराखण्ड, कुमाउ, गढवाल क्षेत्रको अधिकांश हिमाली र पहाडी भूभाग मानसखण्डमा पर्दछन्। प्राचीन मानसखण्डका बस्तीहरुमा हालै गौरा पर्व विधिवत रुपमा धुमधामसाथ मनाइएको छ। गौरा एकादशी व्रतदेखि आरम्भ हुने मानसी लोकपर्व गौरा आगमनको पुर्वसन्ध्यामा यँहा एउटा अनौठो सांस्कृतिक हलचल सुरु हुन्छ। घर पोतेर सफा र चिटिक्क पारिन्छ । आँगन र बाटाघाटाहरु सफा गरेर मिठो मसिनो खाना र गच्छेअनुसार लुगा कपडाको जोहो गरिन्छ । परदेशिएकाहरु गौरा मनाउन घर फर्किन्छन्।
गौरा पञ्चमीको दिन पञ्च अन्न भिजाइन्छ। महिलाहरू बिरुडा धुन्छन्। साउँ, धान, तिल, कुर्जो अपामार्ग र बलजस्ता पञ्च वनस्पतिबाट गौराको प्रतिमुर्ति बनाएर अमुर्तभरणी सप्तमीको दिन गौरा भित्र्याइन्छ। अष्टमीको दिन गौरा मातालाई लिन महेश्वर आउँने विश्वासकासाथ महिलाहरू गौरा–महेश्वरलाई शिरमा राखेर खेलाउँछन्। मांगल गान, सगुन र फागसँगै अठ्यावाली गुञ्जिन्छ। अठ्यावाली मनाएसँगै ब्रतालु महिलाहरुले दुब्धागो लगाउछन्। बिरुडाले घरका सदस्यको टाउको पूजा गरिन्छ। गौरा लोकपर्वका बेला देउडाको घेरोमा गाउँ बस्तीहरु रमाउँछन्।
गौरा शास्त्रीय गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिसँग सम्बन्धित, तर सुदूरपश्चिमको स्थानीय लोकसंस्कृति, कृषि जीवन र मौखिक साहित्यले विशिष्ट रूप दिएको धार्मिक लोक पर्व हो। मानसी लोक पर्व गौराको यही जीवन्त परम्पराले गौरी–पार्वतीको प्राचीन धार्मिक आख्यानलाई यँहाको समाजले आफ्नो कृषि, परिवार, नारीजीवन, भाषा र लोकविश्वाससँग जोडेर ‘गौरा’मा रूपान्तरण गरेको अनुमान गर्न सकिन्छ। हिन्दु धार्मिक परम्परामा गौरी पार्वतीको प्रमुख नाममध्ये एक हो। पार्वती शिवकी अर्धाङ्गिनी, हिमालयकी पुत्री र शक्ति–तत्वकी प्रतीकका रूपमा पौराणिक साहित्यमा स्थापित छन्। त्यसैले ‘गौरा’ शब्दलाई ‘गौरी’सँग जोड्ने धार्मिक–भाषिक आधार बलियो देखिन्छ।
गौरी पूजन प्राचीन हिन्दु परम्परा हो। तर मानसी लोक पर्व गौराको सम्पूर्ण विधि गौरी उपासनाको हुबहु शास्त्रीय संस्करण हो भन्न सकिँदैन। गौरा बुझ्न यही भिन्नता पहिलोपटक स्वीकार गर्नुपर्छ। गौरा पर्वलाई ‘वैदिक पर्व’ भनेर चिनाउने दाबी धेरै ठाउँमा सुनिन्छ। तर मूल वैदिक संहितामा मानसी गौरा लोक पर्वको पञ्चमीमा बिरुडा भिजाउने, सप्तमीमा गौरा भित्र्याउने, अष्टमीमा अठ्यावाली फाग गाउने र देउडा, चैत, धमारी खेल्ने सम्पूर्ण विधान एउटै पर्वका रूपमा भेटिदैन् । यसको अर्थ गौरा हिन्दु धर्मबाहिरको पर्व हो भन्ने होइन। यसको अर्थ केवल यति हो–मानसी लोक पर्व गौरालाई प्रत्यक्ष वैदिक वा पौराणिक पर्व भनेर प्रमाणित गर्नुभन्दा यसको धार्मिक जरा उत्तरवैदिक, पौराणिक र व्रतपरम्परासम्म खोज्नु बढी वैज्ञानिक हुन्छ।
उमा, शक्ति, प्रकृति र देवी–तत्वको विकासक्रम हुँदै पार्वती र गौरीको पौराणिक स्वरूप स्थापित भएको पाइन्छ। यसलाई गौराको प्रत्यक्ष जन्मकथा होइन, देवी–तत्वको दीर्घ धार्मिक विकासक्रमका रूपमा बुझ्नुपर्छ। शिव–पार्वतीको कथा मानसी लोक पर्व गौराको धार्मिक भावभूमिसँग सबैभन्दा गहिरो रूपमा जोडिन्छ। पार्वतीले शिवलाई पति प्राप्त गर्न कठोर तपस्या गरेको, शिवलाई प्रसन्न पारेको र अन्ततः शिवसँग विवाह गरेको कथा विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ। यँही कथा मानसी लोक पर्व गौरामा गाईने मांगल गीत अर्थात फागमा लोकभाषामा प्रवेश गर्छ, तर निकै रोचक परिवर्तनसहित। हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएकी देवी पार्वती लोक फागमा गौरा हुन्। पुराणमा हिमालयकी छोरीका रुपमा वर्णन गरिएकी शक्तिस्वरुपा देवी पार्वती मानसी लोक पर्व गौरामा स्वर्गको इन्द्राशनबाट सिधै झर्छिन।
गौरा पर्वको शास्त्रीय आधार खोज्दा नारदपुराणको गौरी व्रत विशेष महत्व राख्छ। नारदपुराणमा गौरीको पूजा, दुर्वाको प्रयोग, व्रत, जागरण तथा महिलाका विभिन्न मंगलकामनासँग सम्बन्धित विधान पाइन्छ। कन्याले योग्य पति प्राप्तिको कामना गर्ने र विवाहित महिलाले पति, सन्तान तथा सौभाग्यको मंगलकामना गर्ने धार्मिक संरचना त्यहाँ भेटिन्छ। यही संरचना सुदूरपश्चिमको गौरा पर्वसँग अत्यन्त नजिक देखिन्छ। गौराको धार्मिक भावभूमि हिन्दु गौरी–उपासना परम्परासँग गहिरो सम्बन्धित छ। तर यसैबाट आजको गौरा पर्वको प्रत्येक स्थानीय विधि धर्मशास्त्रमै थियो भन्ने निष्कर्ष निकाल्न मिल्दैन। गौरा अष्टमीलाई कतिपय परम्परामा दुर्वाष्टमीसँग जोडिन्छ। दुर्वा अर्थात् दुबो हिन्दु धार्मिक परम्परामा पवित्र वनस्पतिका रूपमा स्थापित छ। दुबो काटिए पनि फेरि पलाउँछ। यही कारणले लोकविश्वासमा यसको सम्बन्ध दीर्घायु, सन्तान, वंशवृद्धि र निरन्तरतासँग जोडिएको देखिन्छ। गौरा पर्वमा दुबोको महत्वले शास्त्रीय र स्थानीय कृषि–जीवनबीचको सम्बन्ध पनि देखाउँछ। गौरा सम्बन्धी आधुनिक नेपाली धार्मिक व्याख्याहरूमा हेमाद्रिको व्रतसम्बन्धी साहित्यलाई पनि महत्वपूर्ण स्रोतका रूपमा प्रस्तुत गरिएको छ।
गौरा अध्ययनमा स्कन्दपुराणको मानसखण्डको चर्चा बारम्बार हुन्छ । मानसखण्ड हिमालयको पश्चिमी भूभागसँग जोडिएको धार्मिक–सांस्कृतिक अवधारणा हो। कतिपय स्थानीय तथा आधुनिक लेखहरूले गौरा पर्वको उत्पत्ति वा प्राचीनतालाई मानसखण्डसँग प्रत्यक्ष जोड्छन् । मानसखण्डीय धार्मिक भूगोल र शिव–पार्वती परम्पराको निरन्तरता गौरापुजन हो। यही धार्मिक संरचना स्थानीय भाषिक विकासबाट गौरा अष्टमी वा गौरा धार्मिक लोक पर्वका रूपमा स्थापित भएको हुन सक्ने बलियो सांस्कृतिक आधार देखिन्छ। तर यसलाई एउटै घटनाबाट ‘गौराको जन्म’ भएको दाबी गर्न सिकिदैन। लोक पर्वहरू प्रायः एउटै दिनमा जन्मिँदैनन्, शताब्दीऔँको धार्मिक अभ्यास, स्थानीय विश्वास र सांस्कृतिक परिवर्तनबाट निर्माण हुन्छन्।
गौरा लोक पर्वलाई केवल धार्मिक ग्रन्थबाट बुझ्न खोज्दा यसको आधा कथा मात्र भेटिन्छ। अर्को आधा कथा फागमा हुन्छ, जो यँहाका महिलाले पुस्तौँदेखि फागमार्फत गौरा, महेश्वर, विवाह, माइती, ससुराली, परिवार, दुःख, सुख र सामाजिक सम्बन्धका कथा बोकेर ल्याएका छन्। फाग लिखित दस्तावेज वा शास्त्र होइन। यो मौखिक लोक परम्पराबाट पुस्तान्त्ररण हुँदै आएको छ। फाग यँहाका नारीहरुको स्मृतिमा सुरक्षित रहदै आएको पाइन्छ। यही कारणले गौराका फागको अनुसन्धान नगरी गौराको इतिहास पूरा हुँदैन। लोक पर्व गौरामा गाइने मांगल, सगुन र फागहरु गौरा संस्कृतिको सबैभन्दा महत्वपूर्ण लोकसाहित्यिक पक्ष हो। यसमा गौरा/गौरीको जीवनकथा, परिवार, विवाह र महेश्वरसँगको सम्बन्धलाई गीतात्मक रूपमा प्रस्तुत गरिन्छ। धार्मिक शास्त्रमा उल्लेखित पात्र र कथालाई यँहाकोे लोकसमाजले आफ्नो भाषा र सामाजिक अनुभवमा पुनर्जीवन दिएको लोकमहाकाव्यका रुपमा फागलाई बुझ्न सकिन्छ।
गौरा लोक पर्वमा हिन्दु आराध्यदेवी पार्वती विभिन्न स्थानीय नाम र सम्बोधनमा जीवित छिन्। लोली गौरा, गंगा गौरा र सञ्ज्या गोरा जस्ता सम्बोधनले देवीलाई अत्यन्त आत्मीय बनाउँछन्। गौरीदेवीकी सौताका रुपमा उल्लेख गरिने सञ्ज्या गौरासम्बन्धी कथा यँहाका बिभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक पाइन्छ। यदि एउटै पौराणिक ग्रन्थबाट कथा जस्ताको तस्तै आएको भए स्थानीय संस्करणहरूमा यति धेरै अन्तर नहुन सक्थ्यो। त्यसैले सञ्ज्या गौरा सम्बन्धी कथालाई लोकस्मृति र मौखिक परम्पराको विकासका रूपमा थप अध्ययन गर्नु बढी उपयुक्त हुन्छ। सञ्ज्या गौराको आजको लोककथात्मक स्वरूपलाई वैदिक वा पुराणिक मूल पात्रका रूपमा प्रमाणित गर्ने आधार भने अत्यन्त कमजोर छ । त्यसैले सञ्ज्या गौरा लोकपरम्पराको विकासका रूपमा अध्ययन गर्नुपर्छ।
गौरा लोक पर्वमा विवाहित महिलाले धारण गर्ने दुब्धागो पनि विशिष्ट सांस्कृतिक अभ्यास हो। यसलाई कतिपय ठाउँमा महिलाको ‘जनै’सँग तुलना गरिन्छ। तर शाब्दिक रूपमा वैदिक जनैसँग समान ठान्न मिल्दैन। यसलाई महिलाको गौरा–धार्मिक सहभागिता, सौभाग्य र सामाजिक पहिचानको प्रतीकका रूपमा बुझ्दा बढी उपयुक्त हुन्छ। गौराको उत्पत्तिबारे सबै लोक–पौराणिक स्रोत एउटै कथा भन्दैनन्। कतिपय प्रकाशित सामग्रीमा सहस्रार्जुन, भृगुवंशी ब्राह्मण र ब्राह्मणीहरूको उपासनासँग गौरा पर्वको कथा जोडिएको पाइन्छ। यस कथामा ब्राह्मणीहरूको धार्मिक शक्ति, पुत्रप्राप्ति र त्यसपछि सहस्रार्जुनको क्षमायाचनासम्मका प्रसङ्ग आउँछन्।
धार्मिक शास्त्रमा एक कथा, लोकमा अर्को देखिए पनि यो विरोधाभास भने होइन। हिन्दु धार्मिक परम्परामा एउटै देवी वा देवताका अनेक आख्यान छन्। लोकसमाजले ती आख्यानलाई आफ्नो भूगोल र जीवनसँग जोड्दै पुनःव्याख्या गरेको पाइन्छ। गौरा लोक पर्व धार्मिक शास्त्रको हुबहु प्रतिलिपि होइन, न शास्त्रविहीन लोकसृजना। यो दुवैको अन्तरसम्बन्धबाट विकसित भएको विशिष्ट र मौलिक सांस्कृतिक संरचना हो । पुराणकी पार्वती जब मानसखण्डको आँगनमा आइन्, उनी केवल देवी रहिनन्। उनी छोरी बुहारी बनिन्। दिदी बहिनी बनिन्। पत्नी र आमा बनिन्। अन्ततः सम्पूर्ण मानसखण्डकी सामूहिक स्मृति बनिन्। प्राचीन हिन्दु देवी–उपासना परम्परालाई यँहाको लोकसमाजले आफ्नो भूगोल, कृषि, जनजीवन, भाषा, संस्कृति र सामुदायिक अनुभवअनुसार पुनःसृजना गरेर आजको गौरा लोक पर्व बनेको हो।
गौरा पर्व प्राचीन हिन्दु गौरी–पार्वती तथा शिव–शक्ति उपासनाको धार्मिक भावभूमिमा विकसित भएको, तर मानसखण्डीय भूगोल, कृषि–जीवन, नारीसंस्कार, मौखिक साहित्य र सामुदायिक जीवनले आफ्नै स्वरूप दिएको विशिष्ट लोकधार्मिक पर्वका रुपमा विकसित भएको पाइन्छ । गौरा लोक पर्व धार्मिक शास्त्र र लोक संस्कृतिबीचको हजारौँ वर्ष लामो सांस्कृतिक संवादको जीवित परिणाम हो। यो धार्मिक शास्त्रहरु कसरी लोकजीवन बन्न सक्छन भन्ने मानसखण्ड सभ्यताको रोचक कथा पनि हो। वेददेखि पुराणसम्म, हेमाद्रिदेखि मानसखण्डसम्म र फागदेखि अठ्यावालीसम्म—गौरा पर्वको धार्मिक र लोकसांस्कृतिक सत्यको खोजी गर्न थप अध्ययन अनुसन्धान आबश्यक छ। (नेपाल समाचार पत्र राष्ट्रिय दैनिक)



















