मुकेश टेर्रा
धनगढी-आम्दानीको स्रोत नबढे पनि चालु खर्च बढाउँदै अघि बढिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा साना सवारीसाधनको करमा भारी वृद्धि गरेको छ भने ठुला सवारीलाई राजस्वमा ठुलो छुट दिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु खर्चको भार थेग्न करको दायरा विस्तार गर्न नसक्ने अवस्थामा करको दर वृद्धि गर्ने नीतिअनुरूप कम सीसीका सवारीसाधनको दर्ता तथा नवीकरणमा लाग्ने करमा पाँच सयदेखि १५ हजार रुपैयाँसम्म वृद्धि गरेको छ। त्यसैगरी, बढी सीसी भएका सवारीसाधनको करमा एक हजारदेखि २० हजार रुपैयाँसम्म घटाएको छ। एक हजार सीसीसम्मका कार, जिप, भ्यान र माइक्रोबसमा २१ हजार रुपैयाँ कर लाग्दै आएकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत २२ हजार रुपैयाँ बनाइएको छ।
एक हजारदेखि एक हजार पाँच सय सीसीसम्मका सवारीसाधनमा २३ हजार रुपैयाँ लाग्दै आएको कर बढाएर २५ हजार रुपैयाँ पुर्याइएको छ। त्यस्तै, १५ सयदेखि २ हजार सीसीसम्मका सवारीसाधनको कर २५ हजारबाट बढाएर २७ हजार रुपैयाँ बनाइएको छ। तर, २ देखि २५ सय सीसीसम्मका सवारीसाधनमा लाग्ने वार्षिक कर ३८ हजारबाट घटाएर ३७ हजार रुपैयाँ बनाइएको छ। दुई हजार पाँच सयदेखि तीन हजार सीसीसम्मका सवारीसाधनको कर ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
गत वर्ष २५ सयदेखि ३ हजार सीसीसम्मका सवारीसाधनमा ४५ हजार र दुई हजार नौ सय एक सीसीभन्दा माथिका सवारीसाधनमा ६५ हजार रुपैयाँ कर लाग्ने व्यवस्था थियो। यसबाट दुई हजार नौ सय एकदेखि तीन हजार सीसीसम्मका सवारीसाधनमा प्रदेश सरकारलाई १५ हजार रुपैयाँ राजस्व घाटा हुने देखिन्छ। त्यसैगरी, ३ हजारदेखि ३५ सय सीसीसम्मका सवारीसाधनको कर ६५ हजार र ३५ सय सीसीभन्दा बढीका सवारीसाधनको कर ७० हजार रुपैयाँ निर्धारण गरिएको छ । साना सवारीधनीलाई बढी भार पर्नेगरी कर निर्धारण गरिएको छ भने ठुला सवारीधनीलाई २० हजार रुपैयाँसम्म कर छुट हुने व्यवस्था गरिएको छ। यसले प्रदेश सरकारको कर नीतिमाथि प्रश्न उठाएको छ।
ट्याक्टरमा यसअघि पाँच हजार रुपैयाँ कर लाग्दै आएकोमा कृषि प्रयोजनमा प्रयोग हुने ट्र्याक्टरका लागि आठ हजार र व्यावसायिक प्रयोजनका लागि १२ हजार रुपैयाँ कर निर्धारण गरिएको छ। पावर टिलरको कर तीन हजारबाट घटाएर दुई हजार रुपैयाँ बनाइएको छ भने बस, ट्रक, मिनिट्रक र मिनिबसको कर यथावत् राखिएको छ । निजी मोटरसाइकलको वार्षिक कर पनि वृद्धि गरिएको छ भने सार्वजनिक र सरकारी मोटरसाइकलको कर यथावत् राखिएको छ।
१२५ सीसीसम्मका मोटरसाइकलको कर दुई हजार पाँच सयबाट बढाएर तीन हजार रुपैयाँ पुर्याइएको छ। १२५ देखि १५० सीसीसम्मका मोटरसाइकलको कर चार हजारबाट बढाएर पाँच हजार रुपैयाँ बनाइएको छ। त्यस्तै, १५० देखि २५० सीसीसम्मको कर आठ हजारबाट घटाएर ६ हजार पाँच सय, २५० देखि ४०० सीसीसम्मको १६ हजारबाट घटाएर ११ हजार र ४०० देखि ६५० सीसीसम्मको कर ३० हजारबाट घटाएर २० हजार रुपैयाँ कायम गरिएको छ । ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर ३० हजार रुपैयाँ तोकिएको छ।
यसैगरी, प्रदेश सरकारले सार्वजनिक सवारीसाधनका रूपमा प्रयोग हुने कार, जिप, भ्यान र माइक्रोबसको कर पनि वृद्धि गरेको छ। एक हजार सीसीसम्मका सार्वजनिक सवारीसाधनको कर एक हजार रुपैयाँ बढाएर ११ हजार पुर्याइएको छ। एक हजारदेखि १५ सय सीसीसम्मका सवारीसाधनको कर पाँच सय रुपैयाँ बढाएर १२ हजार पाँच सय बनाइएको छ। १५ सयदेखि २ हजार सीसीसम्मका सवारीसाधनमा १२ हजार रुपैयाँ लाग्दै आएको कर बढाएर १३ हजार पाँच सय पुर्याइएको छ।
त्यस्तै, २ हजारदेखि २५ सय सीसीसम्मका सवारीसाधनको कर १४ हजारबाट बढाएर १४ हजार पाँच सय, २५०० देखि ३००० सीसीसम्मको १४ हजारबाट बढाएर १६ हजार पाँच सय, ३००० देखि ३५०० सीसीसम्मको १६ हजारबाट बढाएर १७ हजार पाँच सय र ३५ सयदेखि ४ हजार सीसीसम्मको १६ हजारबाट बढाएर १९ हजार रुपैयाँ बनाइएको छ। ४ हजार सीसीभन्दा माथिका सार्वजनिक सवारीसाधनको कर दुई हजार रुपैयाँ बढाएर २२ हजार रुपैयाँ निर्धारण गरिएको छ।

















