बडिमालिका : पर्यटन श्रद्धा र विश्वासको यात्रा

Image

के. बी. मसाल

नेपालको पर्यटन कुनै न कुनै रूपमा धर्म, इतिहास र संस्कृतिसँग गहिरो गरी जोडिएको छ । विशेष चाडपर्वका अवसरमा तीर्थयात्रामा निस्कने हाम्रो परम्परा नै पर्यटनको एउटा सुन्दर रूप हो । इतिहास, धर्म र संस्कृति बिना त कुनै पनि यात्रा अधुरो हुन्छ । पर्यटनको क्षेत्रमा धार्मिक अथवा आध्यात्मिक उद्देश्यले गरिने यात्रा तीर्थाटन पर्यटन हो । धार्मिक पर्यटनको सुरुवात मानव सभ्यताको प्रारम्भिक कालदेखि भएको मानिन्छ । मानिसहरूले जबदेखि धार्मिक विश्वासहरू विकास गर्न थाले, त्यही समय देखि तीर्थाटनमा यात्रा गर्न थालेका हुन् ।
प्राकृतिक सौन्दर्य र जनै पूर्णिमाको रौनक
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्वको आफ्नै मौलिक महत्व छ । पछिल्लो समय नदी, ताल र पोखरीमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्दै तीर्थयात्रा गर्ने प्रचलन बढ्दो छ । जनै पूर्णिमामा तीर्थयात्री जाने धेरै धाम छन् । मानसरोवर, गोसाइँकुण्ड, मुक्तिनाथ, स्वर्गद्वारी, छायाँनाथधाम जस्तै सुदूरपश्चिम बाजुराको बडिमालिका पनि धेरै पर्यटक पुग्दछन् ।
सुदूरपश्चिमको बाजुराको शिरमा एउटा यस्तो धाम छ, जहाँ पुग्नलाई पाइलाले बाटो खोज्नुपर्छ, तर मनले मोक्ष पाउँछ । बडिमालिका जहाँ तीर्थ र स्वर्गको अनुभूति एकै ठाउँमा भेटिन्छ । आजभोलि तीर्थयात्रीको खोजी केवल मन्दिरमा मात्र सीमित छैन, नपुगेको, मौलिक ठाउँको खोजीमा हुन्छन् । समुद्र सतहबाट ४,२०० मिटर उचाइमा, बादलभन्दा माथि रहेको पवित्र बडिमालिकाको भूमिमा पुग्न तीन दिनको पदयात्रा गर्नुपर्छ ।
तर यो थकान होइन, तपस्या हो । बाटोभरि फुलेका बुकीफूल, चराचुरुङ्गीको संगीत, हिमालयको काखमा लुकामारी खेल्ने कुहिरो र चिसो बतासले पर्यटकहरूलाई स्वागत गरिरहेका हुन्छन् । बडिमालिका पुगेपछि पर्यटकहरूलाई मालिका देवीको दर्शन मात्र होइन, दृश्यको समेत तीर्थ हुन्छ । एकातिर देवीको शक्तिपीठको आशीर्वाद, अर्कातिर आँखैअगाडि लहरै फैलिएको सेताम्मे हिमशृङ्खला र हरियाली फाँट ।
कठिन यात्रा, तर आत्माको साक्षात्कार
पर्यटनको लागि बडिमालिकाको यात्रा केवल भौतिक मात्र हुँदैन, आत्मा, श्रद्धा र विश्वासको यात्रा हुन्छ । बडिमालिका ५१ शक्तिपीठमध्ये एक मानिन्छ । यो शक्तिपीठ मात्र होइन, प्रकृतिले मानव जातिलाई दिएको अनुपम उपहार पनि हो । पाँच महिना हिउँले र चार महिना कुहिरोले ढाकिने बडिमालिकाको पदयात्रामा बाजुरा, अछाम, बझाङ, डडेल्धुरा, डोटी मात्र होइन, कालिकोट र मुगुका मनोरम भूदृश्यहरू पनि नियाल्न पाइन्छ ।
बडिमालिकाको यात्रा आत्मज्ञान र परमसतत्यको खोज पनि हो । आधुनिक जीवनशैलीले भौतिक सुख त दिएको छ, तर मानसिक शान्ति र आत्मिक सन्तोष हराउँदै गएको बेला धार्मिक पर्यटकहरू शान्तिको खोजीमा आध्यात्मिक यात्रामा रुचि राख्दछन् । बडिमालिकाको यात्राले ‘म को हुँ ? जीवनको अर्थ के हो ?’ जस्ता गहिरा प्रश्नहरूको उत्तर खोज्न प्रेरित गर्छ । त्यसैले आज शिक्षित र आधुनिक वर्गमा पनि आध्यात्मिक पर्यटन लोकप्रिय बन्दै गएको छ ।
पौराणिक महत्व र ऐतिहासिक सम्बन्ध
बडिमालिका पूजाआजा गर्ने थलो मात्र होइन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा, योग, ध्यान र तान्त्रिक साधनाको केन्द्र पनि हो । श्रीमद्भागवत र स्कन्दपुराणअनुसार सतीदेवीको बायाँ हातको पाखुरा खसेको स्थान बडिमालिका भएको धार्मिक विश्वास गरिन्छ ।
मन्दिरको इतिहास खोज्ने हो भने, बडिमालिकामा वि.सं. १८४३ मा राजा रणबहादुर शाहले मुग्गल गोत्रका ब्राह्मणलाई मूल पुजारी तोकी बक्सेको लालमोहरको प्रमाण अझै पनि पुजारी परिवारसँग सुरक्षित छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहदेखि वीर अमरसिंह थापा, भीमसेन थापा हुँदै राणा शासकहरू र वि.सं. २०३६ सालमा राजा वीरेन्द्रले चढाउनु भएको विशाल घण्टा आज पनि बडिमालिका परिसरमै देख्न सकिन्छ ।
बडिमालिकाको यात्रामा तीन नदीको सङ्गमस्थल त्रिवेणीधामको विशेष महत्व छ । त्रिवेणीमा स्नान र पूजा गरी तीर्थयात्री पर्यटकहरू बडिमालिका उक्लन्छन् र भोलिपल्ट बिहान पूजा गरी बाजुराकै नाटेश्वरी मन्दिरमा फर्कन्छन् । नाटेश्वरीमा पूजा गरेपछि मात्र बडिमालिका दर्शनको चक्र पूरा हुने मान्यता छ ।
एकीकृत पर्यटन सर्किटको आवश्यकता
बडिमालिकालाई धार्मिक स्थल मात्र भन्नु अन्याय हुन्छ, यो प्राकृतिक स्वर्ग हो । बडिमालिकाबाट बिहान सूर्योदयको समयमा हिमालमा पर्ने सुनौलो घामको दृश्य र बादलहरू आफूभन्दा तल तैरिएको देख्दा मान्छे साच्चै स्वर्गमा पुगेको अनुभूति हुन्छ ।
तर सडक यातायातको सहज पहुँच नहुँदा र पदयात्रामा होटल लजको व्यवस्था नहुँदा बडिमालिका अझै पनि धेरै पर्यटकको पहुँचभन्दा बाहिर छ । कम्तीमा तीन दिनको पदयात्राका लागि पर्यटकले न्यानो कपडा, टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि जस्ता सामग्री साथमै लैजानुपर्छ ।
अब बडिमालिकाको पर्यटन विकासलाई खप्तडरामारोशन सँग जोड्नुपर्छ । यी तीन क्षेत्रलाई एउटै पदयात्रा सर्किट (एकीकृत पर्यटन सर्किट) मा जोड्न सके सुदूरपश्चिम केवल घुम्ने ठाउँ मात्र नभई जीवनमा एकपटक पुग्नैपर्ने अनुपम गन्तव्य बन्नेछ । राज्यले बाटो, खानेपानी, शौचालय, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्ने हो भने बडिमालिका पशुपतिनाथ र मुक्तिनाथ जस्तै विश्वप्रसिद्ध तीर्थस्थल बन्न सक्छ ।
प्रतिक्रिया जनाउनुहाेस्