डडेल्धुरा–दसैँ अवधिभर सुदूरपश्चिम प्रदेशमा डेढ सयभन्दा बढी सडक दुर्घटना भएका छन्। असोज २५ देखि कात्तिक ७ सम्म एक सय ५२ वटा दुर्घटना भएका हुन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दसैँ अवधिभरि भएको दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ भने दुई सय ४३ जना घाइते भएका छन्। कैलालीमा चार र कञ्चनपुरमा दुई जनाले दसैँका बेला सडक दुर्घटनामा ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टले जानकारी दिए।
कञ्चनपुरमा ३५ दुर्घटनामा ५० जना, डडेलधुरामा १० दुर्घटनामा १५ जना, डोटीमा आठ दुर्घटनामा आठ जना, बैतडीमा भएको एक दुर्घटनामा एक जना घाइते भएका छन्। कैलालीमा ८८ दुर्घटनामा एक सय ४६ जना घाइते भएका जनाइएको छ। यस्तै अछाममा पाँच दुर्घटनामा आठ जना, बझाङमा एक दुर्घटनामा आठ जना, बाजुरामा दुई दुर्घटनामा चार र दार्चुलामा दुई दुर्घटनामा पाँच जना घाइते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जानकारी दिएको छ।
चाडपर्वका बेला सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन अन्य सवारीसाधनमा ठोक्किएर दुर्घटना भएको सूचना अधिकारी भट्टको भनाइ छ। “मान्छेको मृत्यु पनि मोटरसाइकलपछाडिबाट बयलगाडा, अटो, बाइकलगायतका सवारीसाधनमा ठोक्किएर भएको हो। प्रहरी निगरानी र चेकजाँचका कारण ठुला सवारीसाधन भने दुर्घटना भएनन् ।” सूचना अधिकारी भट्टले भने।
चाडपर्वमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही मात्रै गरेको थिएन, त्यसमा भएका बढी यात्रुलाई झारेर अन्य सवारीसाधनमा गन्तव्यतर्फ पठाउने कार्य गरेको थियो। यसैगरी पहाडी क्षेत्रमा टाइम कार्ड लागु गरिएको छ।

















